अर्थ

शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडाैं– अर्थमन्त्री डा युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिएका हुन्। मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उनले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सधै चनाखो हुनुपर्ने बताए।

मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैंक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गरे। बैंकमा खाता नभई रोजगारीमा नपठाउने तथा तलबभत्ताको निश्चित रकम बैकिङ प्रणालीबाटै पठाउनुपर्ने र त्यसरी पठाएको रकमबाट शेयरमा सहभागी हुन चाहेमा स्वतः हुने व्यवस्था मिलाउन सके रेमिट्यान्सको केही हिस्सा शेयर बजारमा लगाउन सकिने तर्क उनले गरे।

कोमोडिटी मार्केटलाई अझै पनि संस्थागत गर्न नसकिएको स्वीकार गर्दै मन्त्री खतिवडाले जोखिममा रहेर काम गर्ने संस्थाहरुको नियमनका लागि नियामक निकायहरु चनाखो र प्रभावकारी बन्नुपर्ने आवश्यकता औल्याए।

लगानीकर्ताहरुको हित संरक्षण गर्ने, पूँजी बजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले सरकारद्धारा नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको हो। तर पूँजी बजारको विकास र नियमनमा बोर्डको भुमिका प्रभावकारी बन्न नसकेको गुनासो हुदै आएको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App