अर्थ

व्यापारी कारवाहीमा

काठमाडाैं– नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिनुभयो। 'नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौँ', उनले भने। 

चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ। तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्र्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ।

कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट रु ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ। 

प्रकाशित: २५ जेष्ठ २०७६ ०६:३१ शनिबार

नेपाल_गुणस्तर_तथा_नापतौल_कार्यालय व्यापारी