अर्थ

कांग्रेसलाई विष्णु पौडलेको चुनौति : बृद्ध भत्ताका विरुद्ध उभिने हिम्मत छ?

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला  महासचिव पौडेलले संविधानद्धारा निर्देशित भएरै बजेट आएको प्रष्टयाए। सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौति दिएका हुन्। लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ।

महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिव र पीछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दावी गरे। उनले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको पनि बताए। महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दावी पनि गरे। बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उनको दावी छ। महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको पनि बताए।

प्रकाशित: २० जेष्ठ २०७६ ०७:३५ सोमबार

कांग्रेस बृद्ध_भत्ता चुनौति बजेट