अर्थ

यती एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा

काठमाडाैं- निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन्।

एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ। आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो। चन्दा यसअघि यति एडभेञ्चरकी प्रमुख थिइन्। कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए।

एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ। उनी स्व आङछिरिङका दाइ हुन्। कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ।

यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन्। यतिकै भगिनी संस्था तारा एअरका दुई वटा डोर्नियर डिओ२२८ र चार वटा डिएचसी छ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ। अबका केही दिनमा यतिको पाँचौँ एटिआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्।

प्रकाशित: १९ जेष्ठ २०७६ १४:२० आइतबार

यती_एयरलाइन्स चन्दा_शेर्पा प्रबन्ध_निर्देशक