अर्थ

उर्जामा ८३ अर्ब ४९ करोड बजेट

काठमाडौं– सरकारले उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो।

मुलुकको समृद्धिको संवाहकको रुपमा जलविद्युत क्षेत्रको विकास हुने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। बजेटमा उर्जाको कम पहुँच भएको प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई अन्धकारमुक्त प्रदेश घोषणा गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

बजेटमा आगामी आर्थिक वर्षभित्र ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने योजना पनि समावेश गरिएको छ। अर्थमन्त्री खतिवडाले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अरव ५७ करोड, तनहु जलविद्युत आयोजनाका लागि ८ अर्ब ९० करोड तथा तामाकोसी ५ जलविद्युत आयोजनाका लागि १ अर्ब ८५ करोड बजेटको व्यवस्था गरिएको पनि बताए। बजेटमा सबै प्रदेशमा दुई वटा जलविद्युत तथा सौर्य उर्जा परियोजना संचालनमा ल्याउने कार्यक्रम पनि समावेश गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ १२:२६ बुधबार

बजेट उर्जा