अर्थ

कर्णालीमा अब शेयर कारोबार

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो। यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ। कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताए। 'कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो', उनले भने 'यहाँका जलविद्युत् आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ।' इम्पेरियल सेक्युरिटीजले यसअघि नेपालगञ्जबाट शेयर कारोबार गर्दै आएको थियो।

प्रकाशित: ११ जेष्ठ २०७६ ०८:४५ शनिबार

कर्णाली_प्रदेश वीरेन्द्रनगर शेयर नेप्से स्टक_एक्सचेन्ज