अर्थ

सिटिजन्स म्युचुअल फन्ड–२ आउँदै

काठमाडौं – सिटिजन्स बैंकले आज (बिहीबार) बाट सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको म्युचअल फन्ड योजनाको आकार एक अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।

सर्वसाधारण लगानीकर्ताले बैंक तथा वित्तीय संस्था वा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी युनिट खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। फन्डले सर्वसाधारण लगानीकर्तालाई अधिकतम प्रतिफल दिन खोजेकोे योजना व्यवस्थापक सिबिआइएल क्यापिटलले जनाएको छ।
निष्कासन गर्न लागेको कुल १० करोड एकाइमध्ये एक करोड ५० लाख एकाइ (१५ प्रतिशत) कोष प्रवद्र्धक सिटिजन्स बैंकले प्रयोग गर्नेछ भने बाँकी संस्थागत र सर्वसाधारणलाई निष्कासन हुने सिबिआइएल क्यापिटलको भनाइ छ।

योजनाको अवधि सात वर्ष रहेको र औसत वार्षिक १९ प्रतिशतसम्म प्रतिफल दिने सिबिआइएलका निष्कासन प्रबन्धक शेखर पौडेलले बताए। म्युचअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई कारोबार हुनेछ। अघिल्लो वर्ष बैंकले एक अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फन्ड–१ निष्कासन गरेको थियो। सेयर बजार घट्दा पनि फन्ड–१ को खुद मूल्य ११ रुपैयाँ ५७ पैसा रहेको प्रबन्ध निर्देशक नवराज गिरीले जानकारी गराए। सर्वसाधारणले फन्ड खरिदका लागि जेठ १३ गतेसम्म आवेदन दिन पाउनेछन्।

 

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:१४ बिहीबार

सिटिजन्स_बैंक सिटिजन्स_म्युचुअल_फन्ड