अर्थ

अलैंची किसानलाई तालिम

खोटाङ – अलैंचीमा लाग्ने रोग नियन्त्रण गर्दै व्यवसायीकरणका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्वन्धी तालिम सञ्चालन गरेको छ। केही वर्षयता रोगका कारण किसानको अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंचीलाई रोगबाट बचाउने उपायबारे जानकारी दिन दुईदिने तालिम आयोजना गरेको हो।

अलैंचीमा लाग्ने रोगको रोकथाम गर्दै व्यवसायीकरणका लागि गाउँपालिकाका अगुवा अलैंची किसानलाई सहभागी गराएर तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए। पात पहेंलो हुने, सुक्ने, कालो छिर्के लाग्ने, फुर्के हुने, गुवा कुहिने, बोट नै मर्नेलगायत समस्याले केही वर्षयता किसान मारमा पर्न थालेपछि गाउँपालिकाले स्मार्ट माइक्रो रिसर्चको प्राविधिक सहयोगमा अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्बन्धी तालिम आयोजना गरेको हो। ‘अलैंचीमा अहिले रोगको समस्या देखिएको छ। रोग नियन्त्रण गर्दै अलैंचीको व्यवसायीकरणका लागि तालिम आयोजना गरिएको हो,’ अध्यक्ष राईले भने, ‘किसानलाई अलैंचीमा लाग्ने रोग, कारण र बच्ने उपायका बारेमा जानकारी दिएका छौं। यो नगदे बाली भएकाले व्यवस्थित तरिकाले खेती गर्न सकिए किसानको आयस्तर उकास्न सकिने सम्भावना छ।’ तालिममा गाउँपालिकाका २५ किसानलाई सहभागी गराइएको गाउँपालिकाले जनाएको छ।

विशेषगरी केपीलासगढी गाउँपालिकाको सुंदेल, फेदी, खार्ताम्छा, बाक्सिला, बासपानी लगायतका ठाउँमा लगाइएका अलैंची बगान सुकेर सोत्तर बन्न थालेको छ। यसबाहेक ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, राखाबांदेल, ऐसेलुखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, साकेला गाउँपालिकाको रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिकुवापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, जन्तेढुंगाको चिसापानी, डम्बर्खुशिवालय लगायतका ठाउँमा लगाइएका अलैंचीमा रोग देखिएको छ। अलैंचीमा सबैभन्दा बढि समस्या जिल्लाको केपीलासगढी र ऐसेलुखर्क गाउँपालिकाका उत्तरी क्षेत्रमा देखिएको छ। रोगका कारण कतिपय किसानका अलैंची उत्पादनको मात्रा वर्षेनी घटिरहेको छ।

जिल्लामा २०६५ सालमा अलैंचीमा सामान्य समस्याकारुपमा देखा परेको पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेँलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहँेलो कमिला लाग्ने लगायतका समस्यले २०६७ सालपछि उग्र रुप लिएको किसानको भनाई छ। रोगका कारण अलैंची उत्पादन दोब्बर र तेब्बरका दरले घटिरहेको छ। धान, गहुँ लगायतका अन्नबाली उत्पादन हुँदै आएको उर्वर खेत र बारी मासेर अलैंची लगाएका किसान हाल अलैंचीमा रोगको प्रकोप देखिएपछि दोधारमा छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:१४ बिहीबार

अलैंची व्यवसायीकरण किसान तालिम