अर्थ

तल्लो सोलुको ७५ प्रतिशत पूरा

तल्लो सोलु जलविद्युत् आयोजना निर्माण हुँदै। तस्बिर: नागरिक

सोलुखुम्बु – ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ। २०७३ साउनदेखि जिल्लाको सोलु खोलामा निर्माण सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको हो। आयोजनाको बाँध क्षेत्रको संरचना तयार भएको सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्गले बताए। भूमिगत डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी)मा ढलानको काम भइरहेको उनले जानकारी दिए।

दैनिक १२ सय मजदुरले काम गरिरहेको आयोजनाको बाँध निर्माण सतप्रतिशत सकिएको छ। भूमिगत डिसेन्डरको काम अन्तिम चरणमा पुगेको छ। आगामी तीन महिनामा डिसेन्डर तयार हुने कार्यकारी निर्देशक गर्गले बताए। आयोजनाको मुख्य सुरुङ छेडिन आठ सय मिटर बाँकी छ। ४.२ किलोमिटर लामो सुरुङमध्ये ३.४ किमि खनिसकिएको छ। बाँकी सुरुङ आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सुरुङमा भौगर्भिक समस्या
कमजोर भूगर्भका कारण लेदो माटो र पानी झरिरहेकाले कामको गति केही सुस्त भएको कम्पनीले जनाएको छ। विद्युत् गृहमा सिभिल संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विद्युत् गृहको सिभिल संरचना असारभित्र सम्पन्न गर्ने कम्पनीको दाबी छ।

विद्युत् गृहमा इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ। आयोजना सम्पन्न गरेर आगामी मंसिर मसान्तदेखि विद्युत् उत्पादन गर्ने योजना रहेको छ। तर, सुरुङमा देखिएको भौगर्भिक समस्याले उत्पादन अवधि तीन महिना धकेलिन सक्ने कम्पनीले जनाएको छ।

विद्युत् खेर जाने चिन्ता
आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमा जोडिनेछ। सबस्टेसन तयार भए पनि प्रसारण लाइनको कामले गति लिन नसक्दा विद्युत् खेर जाने चिन्ता बढेको छ। तर, प्रसारण लाइनकै कारण उत्पादित विद्युत् खेर जाने अवस्था नआउने प्रसारण लाइन आयोजना प्रमुख जनार्दन गौतमले बताए। उनले तल्लो सोलुले उत्पादन सुरु गर्नुअघि नै प्रसारण लाइन तयार हुने दाबी गरे। अबको १० महिनामा प्रसारण लाइन तयार हुने उनको भनाइ छ।

गौतमका अनुसार प्रसारण लाइनको ठेक्का सम्झौताको म्याद २०७६ माघ १७ गतेसम्मका लागि थप गरेको छ। भारतको मोहन इनर्जी कर्पोरेसनसँग भएको ठेक्का सम्झौता गत चैतमा सकिएको थियो। निर्धारित समयमा निर्माण हुन नसकेपछि प्राधिकरणले म्याद थपेको हो।

प्रसारण लाइनको सोलुखुम्बु र ओखलढुंगा खण्डको रुख कटानका लागि मन्त्रिपरिषद्को स्वीकृति आउन समय लागेकाले लक्ष्य अनुसार काम हुन नसकेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म प्रसारण लाइनको तीन सय तीन टावरमध्ये एक सय २६ वटाको मात्रै जग खनिएको छ। २४ वटा टावर तयार भएका छन्। तार तान्ने काम सुरु भएको छैन।

सोलु कोरिडोरमा तल्लो सोलुसँगै २३.५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी, १८ मेगावाटको माथिल्लो सोलु, पाँच मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन्। सोलुबाट गत फागुनदेखि विद्युत् उत्पादन गर्ने तालिका थियो। तर, प्रसारण लाइन तयार नहुँदा सोलुको विद्युत् अझै प्रणालीमा जोडिन सकेको छैन। प्रसारण लाइन तयार भइनसकेकाले आयोजनाको निर्माण गति अहिले सुस्त भएको अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०५:५९ बुधबार

तल्लो_सोलु सोलु_हाइड्रो_पावर