अर्थ

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

काठमाडौं – तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ। सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटिएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो।

बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गरी सोको जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई  सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन्। बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन्।   नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्छन्। कुल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका छन्। सरकारले नयाँ वर्षको सुरुआतसँगै सुरु गरेको ‘खाता खोलौं’ अभियानले पनि एटिएम कार्ड लिनेको संख्यामा वृद्धि हुने देखिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App