अर्थ

शुक्रबारदेखि परीक्षण उत्पादन

रसुवा - माथिल्लो त्रिशूली थ्रि ‘ए’ले शुक्रबार साँझदेखि परीक्षण उत्पादन सुरु गरेको छ। सम्झौता भएको नौ वर्षपछि आयोजना परीक्षण उत्पादन गर्न सफल भएको हो। परीक्षण उत्पादन सफल भए आयोजनाले पहिलो युनिटबाट व्यावसायिक उत्पादन सुरु गर्ने छ। परीक्षण उत्पादनको अवधि ७२ घन्टा हुन्छ। ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् बिहीबार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

७२ घन्टासम्म परीक्षण उत्पादन गरेपछि आठ दिन ‘सट डाउन’ गरिने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। त्यसपछि आयोजनाले पहिलो युनिटबाट व्यावसायिक उत्पादन सुरु गर्ने छ। आगामी असार १६ गते दोस्रो युनिटबाट पनि उत्पादन सुरु हुने आयोजनाले जनाएको छ।

असार मसान्तसम्म आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने छ। पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशत योगदान रहने छ। नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको पावर हाउस रहेको किस्पाङमा ‘स्विच अन’ गरेर प्रणालीमा जोडेका थिए। पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएपछि दोस्रो युनिटमा ‘नो लोड टेस्ट’ गरिने छ। पहिलो युनिटबाट उत्पादन सुरु भएपछि दोस्रो युनिटबाट विद्युत् उत्पादन सहज हुने आयोजनाले जनाएको छ।

दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना प्राधिकरण आफैंले निर्माण गरेको हो। चालु आर्थिक वर्ष ०७५/७६ भित्र दुवै युनिटबाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ। यही वैशाख १७ देखि पहिलो युनिटबाट उत्पादन सुरु गर्ने कार्ययोजना थियो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजना निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)सँग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिव २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादित विद्युत् थ्रिबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिने छ। जसमा पावर हाउस (सिम्ले)देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:१९ आइतबार

माथिल्लो_त्रिशूली_थ्रि_‘ए’ परीक्षण_उत्पादन राष्ट्रिय_प्रसारण_प्रणाली