अर्थ

विदेशी लगानीकर्तालाई नेपाल आउन आग्रह

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले बिदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बिहीबार राजधानीमा आयोजित नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारले नेपालमा लगानीमैत्री वातावरण र त्यसको सुरक्षाको प्रत्याभूति दिएको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरे।

अहिले सरकारको लक्ष्य नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताउँदै उनले यस्ता कार्यक्रमले नेपालमा लगानीको साथै धेरैभन्दा धेरै पर्यटकक भित्र्याउन सघाउ पुग्ने बताए। भारत लगायत संसारमै प्रख्यात हुँदै गएको फ्रेन्चाइज नेपाल आउनु नेपाली लगानीकर्ता र रोजगारदाताका लागि खुसीको खबर भएको उनको धारणा थियो। नेपालसँगको सहकार्यमा विदेशीले पनि नेपाली ब्रान्ड र पहिचानसँग परिचित हुन पाउने उनको भनाइ छ।

पुँजी र वित्तीय क्षेत्रमा नेपालमा थुप्रै अवसर रहेको भन्दै अर्थमन्त्री खतिवडाले नेपालमा पर्यटन व्यवसाय पनि निकै फाइदाजनक रहेको जानकारी गराए। नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियाको सहकार्यमा होटल याक एन्ड यतीमा जारी एक्स्पोमा राखिएका स्टलको पनि मन्त्री खतिवडाले अवलोकन गरे।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र नेपालमा उद्यमशीलता विकास गर्न विभिन्न विदेशी ब्रान्ड नेपाल भिœयाउने उद्देश्यले सञ्चालित एक्स्पोमा अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाइसकेका नेपाल र भारतका करिब ६० ब्रान्डको सहभागिता छ। एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेसन, फुड र बिभरेज, रियल स्टेट तथा टेक्नोलोजी जस्ता ब्रान्डको सहभागिता छ।

नेपालबाट अग्नि ग्रुप, टिवडेवाला ग्रुप, मेरो घर, सिटी ड्रिम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पस्मिना, शोभा नेपाल  र श्रीजयकाली जडीबुटी लगायत कम्पनीको सहभागिता छ भने नाइन किड्स, अमेरिकन स्कुल, बेस्ट सेलर, बाइक स्टुडियो, बम्बे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, युक्लिन जस्ता भारतीय ब्रान्डहरुले सहभागिता जनाएका छन्।
कार्यक्रममा नेपालस्थित भारतीय राजदूत मञ्जीभसिंह पुरी, नेपाल उद्योग वाण्ज्यि महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता थियो।

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:१४ शुक्रबार

युवराज_खतिवडा बिदेशी_लगानी पर्यटन_व्यवसाय