अर्थ

भक्तपुरमा पर्यटकीय योजनाको खाँचो

राष्ट्रिय सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘भक्तपुरको पर्यटन विकासका सम्भावना र अवसर विषयक’ अन्तक्र्रिया कार्यक्रमका सहभागी। तस्बिर: नागरिक

भक्तपुर – जिल्लाको पर्यटन विकासका लागि ‘एकीकृत पर्यटकीय गुरुयोजना’ आवश्यक रहेको सरोकारवालाले बताएका छन्। एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यको अपेक्षित विकास हुन नसकेकाले सबै स्थानीय तह मिलेर योजना तयार गरेर कार्यान्वयन गर्न सुझाव दिए।

भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न व्यवस्थित खाका आवश्यक रहेको उनीहरुले औंल्याए। राष्ट्रिय सञ्चार केन्द्र नेपालले आयोजना गरेको भक्तपुरको पर्यटन विकासका सम्भावना र अवसर विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पर्यटन विकासका लागि गुरुयोजनाको खाँचो रहेको बताए। ‘पर्यटनका लागि सबै निकायको तत्परता र सहभागिता आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको प्राथमिकीकरण गरेर एकीकृत गुरुयोजना बनाउनु पर्छ।’ भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने भए पनि जिल्लाले बृहत्तर योजना बनाएर पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताए। ‘कुन पर्यटकीय गन्तव्यलाई कसरी विकास गर्ने, एकीकृत योजना आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यको विकास नहुँदासम्म पर्यटक आगमन वृद्धि हुँदैन।’
भक्तपुर दरबार स्वायर, चाँगुनारायण मन्दिर, नगरकोट लगायत पर्यटकीयस्थल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। नगरकोट जाने सडक पूर्वाधारमा सुधार आउन नसकेको भन्दै चिन्ता व्यक्त गरियो।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले वार्षिक रुपमा पर्यटक आगमन बढे पनि एकीकृत योजना आवश्यक रहेको धारणा राखे। ‘एकीकृत पर्यटन विकास योजना बनाउनु आवश्यक छ,’ मिश्रले भने, ‘एउटा नगरपालिका मात्र नभएर समग्र भक्तपुरकै बृहत्तर योजना बनाउनु पर्छ।’

विदेशी पर्यटक भक्तपुर आए पनि एक रात पनि नबस्ने बताए। ‘यहाँ आउने पर्यटक २–३ घन्टा घुमेर फर्किन्छन्,’ मिश्रले भने, ‘पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनु पर्छ।’ पर्यटकको बसाइ लम्ब्याउन सके आर्थिक गतिविधि बढेर स्थानीय तहमा रोजगारी सिर्जना गर्न सकिने उनले बताए। ‘पर्यटनलाई अर्थतन्त्र र रोजगारीसँग जोड्नुपर्छ,’ उनले भने, ‘यसबाट भक्तपुरबासीले फाइदा लिन सक्छन्।’ भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट वार्षिक २५–३० करोड रुपैयाँ आम्दानी गरे पनि समग्र भक्तपुर जिल्लाले फाइदा लिन नसकेको धाराणा राखे।

भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले समृद्धिका लागि सम्भावना भएको क्षेत्र पर्यटन भएको बताए। पर्यटनको शुल्क लिएरमात्र पर्यकीय क्षेत्रको विकास हुन नसक्ने उनको धारणा थियो। ‘सरकारसँगै निजी क्षेत्र पनि यहाँको विकासमा लाग्नुपर्छ,’ उनले भने, ‘भक्तपुरको संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्छ।’ परम्परागतमात्र नभएर मानव निर्मित पर्यटकीय स्थल निर्माण गर्नुपर्ने उनको धारणा थियो। नवलपरासीको शाश्वत धामको उदाहरण दिँदै मानव निर्मित गन्तव्यमा पनि पर्यटक आकर्षित गर्न सकिने उनले बताए।

कार्यक्रममा गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए। ‘सरकारले पूर्वाधार विकासमा लगानी गनुपर्छ,’ उनले भने, ‘पर्यटनमार्फत समृद्धि ल्याउन सकिन्छ।’
भक्तपुरको पर्यटकीय क्षेत्रका समस्या पहिचान गरेर सबै स्थानीय तह मिलेर योजना बनाई कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय सञ्चार केन्द्र नेपाल भक्तपुरका अध्यक्ष पेशल आचार्यले बताए।

भक्तपुरबाट सगरमाथासहित सातवटा हिमालको दृष्यावलोकन गर्न सकिन्छ। पुरातात्विक महŒवको विश्व सम्पदा सूचीमा परेको चाँगुनाराण मन्दिर भए पनि अन्य मानव निर्मित संरचना निर्माण गर्न नसकेकाले पर्यटकको बसाइ लम्ब्याउन कठिन भएको सबैको धारणा थियो। नगरकोटमा भ्यू टावर निर्माणका लागि पहल भइरहेको छ। चाँगुनारायण नगरपालिकालले चाँगुनारायण मन्दिर परिक्रममा मार्ग, नौवटा पुराना पोखरीको संरक्षण, मन्दिरदेखि लाकुरीसम्मको इको ट्रेललगायत पर्यटकीय योजना बनाएर कार्यान्वयन चरणमा प्रवेश गरेको छ। भक्तपुर पुग्ने पर्यटकले विश्वसम्पदामा सूचीकृत सम्पदाका साथै मनोरम दृश्य, हिमालको दृश्यावलोकन गर्न सक्छन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:०४ शुक्रबार

पर्यटकीय_गुरुयोजना विदेशी_पर्यटक गुरुयोजना