अर्थ

चट्याङले एउटै गोठमा २८ भेंडा मरे

दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडा नजिकै चट्याङले मरेका पतिपुरे सामुहिक भेंडापालन समुहको घुम्तीगोठका भेंडा। तस्बिर: नागरिक।

लमजुङ - निकै उचाइमा रहेको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडा लेकमा चट्याङ पर्दा घुम्तीगोठका २८ भेंडा मरेका छन्। शनिबार साँझ मलेयाडाँडास्थित गोठ नजिकै चट्याङ परेको र त्यसको असरले ति भेंडा मरेको पतिपुरे सामुदायिक भेंडापालन समूहका अध्यक्ष दुर्जङ गुरुङले बताए।

लेकका खर्कमा भेंडा चराउन लगिएको अवस्थामा घटना घटेको र ढिलोगरी जानकारी गराउन सकिएको अध्यक्ष गुरुङले बताए। गोठमा चारजना भेंडा हेरालो रहेका र उनीहरुले नै घटनाबारे जानकारी दिएको बताइएको छ। जानकारी पाएपछि दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङ र दोर्दी गाउँपालिका नायव पशु स्वास्थ्य प्राविधिक बिनोदप्रसाद कट्टेल सँगै भेंडापालन समूहका १३ सदस्य आइतबार घटनास्थल पुगेका थिए।

१२ घण्टाको पैदल यात्रापछि उनीहरु मलेयाडाँडा पुगेको र घटनाबारे बुझेको पशु प्राविधिक दिनेश गुरुङ बताउँछन्। ‘निकै कठिन यात्रापछि हामी भेंडीगोठ पुगेर घटनाबारे बुझ्यौं,’ गुरुङले भने, ‘२८ वटा भेंडा मरेका छन् र तिमध्ये धेरैजसो माउ भेंडा छन्।’ चलनचल्तीको बजार भाउअनुसार प्रतिमाउ भेंडाको मूल्य २० हजार रुपैयाँ माथि पर्ने हुँदा भेंडापालन समूहलाई झन्डै साढे पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको गुरुङको भनाइ छ।

चट्याङका कारण आफूहरुले ठूलो क्षति बेहोर्नु परेको दुःखेसो भेंडापालन समूहका अध्यक्ष गुरुङले पोखेका छन्। दूधपोखरी गाउँपालिका–६ गौंडा क्षेत्रका साल्मे, ओखरी, भीरकुना र दोर्दी गाउँपालिका–५ स्थित पाचोक र सिम्रुङ गाउँका दुई दर्जनभन्दा बढी कृषकले पतिपुरे सामूहिक भेंडापालन समूह गठन गरी भेंडा पाल्दै आएका छन्। भेंडा मरेपछि भएको क्षतिपूर्ति वा राहत सम्बन्धित निकायले व्यवस्था गरिदिए आफूहरुलाई राहत हुने समूहका सदस्य भेंडापालक ओखरीका तुलाराम गुरुङले बताउँछन्।

‘हामीले कल्पनै नगरेको घटना भयो, यसबाट हामीलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘कहाँबाट राहत पाइन्छ कि पाइन्न कि त्यो पनि थाहा छैन, हाम्रो दुःखमा सम्बन्धित कार्यालयले हेरिदेओस् भन्ने चाहना छ।’ उनी जस्तै यो घटनाबाट आफ्नो समूहमा निकै दुःख परेको समूहका सदस्य ओखरीका प्रितम गुरुङ, पाचोकका धनबहादुर गुरुङ र सिम्रङका बनबहादुर गुरुङले पनि दुःखेसो पोखेका छन्। भेंडाको बिमा भने नगरिएको उनीहरु बताउँछन्। विगतमा बिमा गराइएको तर भेंडा मरेपछि वा हराएपछि दाबी गर्ने प्रकृया निकै झन्झटिलो र अव्यवहारिक भएकाले बिमाप्रति कृषकको आकर्षण नबढेको भेंडापालकको भनाइ छ। उनीहरुको गोठमा साढे ६ सय भेंडा रहेकामा २८ वटा चट्याङ परेर मरेका हुन्।

दूधपोखरी गाउँपालिका क्षेत्रका विभिन्न लेक र खर्कमा यस्ता १० वटा घुम्ती प्रकृतिका सामूहिक भेंडीगोठ रहेको कृषक बताउँछन्। गोठमा खट्ने हेरालोले भेंडा बिक्रीबाट आएको आम्दानीको निश्चित हिस्सा आफूले राखेर अरु समूहलाई दिने चलन रहेको भेंडापालक सिम्रुङका घमान गुरुङ बताउँछन्। उनले मौसमअनुसार घुमाउँदै वा ठाउँ सार्दै भेंडा चराउने भएकाले यस्ता गोठलाई घुम्ती गोठ भन्ने गरिन्छ। हिउँद याममा बेसीतिरका टारीखेत र फाँटमा झार्ने र बर्खा लागेसँगै हिमाली लेक र खर्कतिर गोठ सार्ने प्रकृया वर्षौंदेखि चल्दै आएको गुरुङको भनाइ छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:२० शुक्रबार

चट्याङ भेंडापालन