अर्थ

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

रसुवा– माथिल्लो त्रिशूली थ्रि ‘ए’ ले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

नेपाल विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको पावर हाउस रहेको किस्पाङमा ‘स्वीच अन’ गरेर प्रणालीमा जोडेका हुन्। आयोजनाबाट शुक्रबार साँझ ५ बजेबाट लगातार ७२ घण्टा परीक्षण उत्पादन हुने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।

‘शुक्रबारबाट परीक्षण उत्पादन सुरु हुन्छ, उनले भने, यो सफल भएमा हामी व्यवसायिक उत्पादन सुरु गर्छौँ।’ पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएपछि दोस्रो युनिटमा नो लोड टेष्ट गरिने छ। पहिलो युनिटबाट उत्पादन सुरु भएपछि दोस्रो युनिटबाट विद्युत् उत्पादन सहज हुने आयोजनाले जनाएको छ।

दुबै युनिटबाट ३०/३० मेगावट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। चालु आर्थिक वर्ष २०७५÷७६ भित्र दुबै युनिटबाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको छ।

यही वैशाख १७ गतेबाट पहिलो युनिटबाट उत्पादन सुरु गर्ने कार्ययोजना थियो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ साल वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिव २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रिबि हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइन मार्फत लगिने छ। जसमा पावर हाउस (सिम्ले) देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ १२:०२ बिहीबार

माथिल्लो_त्रिशूली_थ्री_‘ए’ राष्ट्रिय_प्रसारण_लाइन विद्युत्