अर्थ

उवासंघमा चिपालुको प्यानल विजयी

इलाम– इलाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा नेपाली कांग्रेसनिकट व्यवसायीको प्यानल विजयी भएको छ। अध्यक्षमा ईश्वर चिपालुसहित सबै पदमा कांग्रेसनिकट व्यवसायीले चुनाव जितेका हुन्। 

शनिबार दिउँसो भएको निर्वाचनपछि अबेरसम्म भएको मतगणनाबाट चिपालु ६ सय ४३ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट व्यवसायी देवेन्द्र शंकरले ३ सय ९३ मत ल्याए। १६ सदस्यीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चेतनाथ (कृष्ण) पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा (मदन) श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा गजुरेल (सुवेदी), महासचिवमा हेमन्त गौतम (अत्री), सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भए। सदस्यहरूमा कर्ण साङपाङ राई, बालकुमार श्रेष्ठ, देवीप्रसाद पौडेल, सुमन दास, धर्मेन्द्र सुवेदी (सुमन), महिला सदस्यहरूमा खिनमाया बस्नेत, देवीकला पोख्रेल र दीपा गुरुङ विजयी बने। 

नेतृत्वका लागि सबै पदमा दुई प्यानलबीच निर्वाचन भएको थियो। नवनिर्वाचित अध्यक्ष चिपालुले जिल्लाका सम्पूर्ण व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याए। ‘जिल्लाको कृषि, पर्यटन, उद्योग–व्यवसाय सबै क्षेत्रमा धेरै काम गर्न बाँकी छन्,’ उनले भने, ‘संघले व्यवसायीलाई समृद्ध नेपाल निर्माण गर्ने दिशामा लाग्न प्रेरित गर्नेछ, अवसर प्रदान गर्नेछ।’ 

प्रकाशित: २९ वैशाख २०७६ १५:१९ आइतबार

इलाम उद्योग_वाणिज्य_संघ नेपाली_कांग्रेस प्यानल