अर्थ

दिक्तेलमा करदाता सेवा कार्यालय

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा सोमबार करदाता सेवा कार्यालय उद्घाटन गरिएको छ। चैत २८ गतेदेखि सेवा परीक्षण भएको करदाता सेवा कार्यालयको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन्।

राष्ट्रिय वाणिज्य बैंक र जिल्ला प्रहरी कार्यालय नजिकै स्थापना गरिएको करदाता सेवा कार्यालय पूर्वसभाषद, पिके राई, समिता कार्की, आन्तरिक राजस्व बिभागका उपमहानिर्देशक झलकराम अधिकारी, जिल्ला समन्वय समिति प्रमुख बबी चामलीङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उद्घाटन गरिएको हो।

भ्याट, पान लगायतका करसम्बन्धी कामका लागि सिराहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्य गर्न साविकको सदरमुकामकारुपमा रहेको दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो। कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह गरिने करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए।

प्रकाशित: २७ वैशाख २०७६ ०२:०३ शुक्रबार

दिक्तेल करदाता प्रतिनिधिसभा