अर्थ

बैंकहरूकाे सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो, कारवाहीमा पर्न सक्ने

काठमाडौं – निक्षेप र कर्जाबीच सन्तुलन हुन नसक्दा अधिकांश वाणिज्य बैंकको कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात (सीसीडी रेसियो) अहिले पनि माथि उक्लने क्रममा छ।

अधिकांश बैंकको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ। सात वटा बैंकको यो अनुपात राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले सीसीडी अनुपात ८० प्रतिशत कायम गरेको छ। योभन्दा माथि गए राष्ट्र बैंकले कारवाही समेत गर्न सक्छ।

सरकारले विकास खर्च बढाउन नसक्नु र बैंकहरूले अत्यधिक कर्जा प्रवाह गरेका कारण बैंकहरूमा सीसीडी चाप देखिएको छ। औसतमा अहिले बैंकहरू ७८ प्रतिशत सीसीडी रेसियोमा कार्य सम्पादन गरिरहेका छन्,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘कुनै बैंकलाई अत्यधिक चाप छ भने कुनै बैंक केही सहज अवस्थामा छन्। महिनामा सीसीडी रेसियो गणना हुने भएकोले अहिले चाप थेगिरहेका बैंकहरूले पनि समायोजन गर्ने गरेको पौडेलले बताए।

दुई वर्षदेखि यो समस्या झेलिरहेका बैंक तथा वित्तीय संस्थाहरू थप कर्जा विस्तार गर्न सहज अवस्थामा पुगेका छैनन्। खर्च बढ्दै छ अब केही सहज हुन्छ भन्ने आसमा बैकर्सहरू बसेका छन्। चालु आवको १० महिना बित्न लाग्दा कुल पुँजीगत खर्चको ३८ प्रतिशत अर्थात् एक खर्ब १९ अर्बमात्रै खर्च भएको छ।

सरकारले चालु आवको लागि तीन खर्ब १३ अर्ब पुँजीगत खर्च विनियोजन गरेको थियो। सरकारी खर्च हुन नसक्दा बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य पुँजी अभाव भएको हो। गत शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा ३१ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर २८ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेका छन्।

२८ वटा वाणिज्य बैंकमध्ये कुमारी र सिभिल बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि छ। बैंकको अहिले पनि सीसीडी रेसियो ६९ प्रतिशतमात्र छ। नेपाल क्रेडिट एन्ड कमर्स, माछापुच्छे्र, जनता, सेन्चुरीलगायत अधिकांश बैंककोे सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि छ। सरकारी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो भने ७० प्रतिशत मात्रै छ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रायः बैंक सीसीडी रेसियो केन्द्रीय बैंकले तोकेको उच्चतम सीमामा पुगिसकेको बताए। ‘यो थपघट भइरहन्छ’,उनले भने, ‘धेरै बैंकको सीसीडी रेसियो अहिले पनि ७८/७९ प्रतिशतको हाराहारीमै छ। ‘चाडपर्व सकिँदै छ’, उनले भने, ‘त्यसपछि बैंकमा निक्षेप थपिन्छ।’ अहिले कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा बैंक पुगे पनि ठप्पै कर्जा भने नरोकिएको उनले बताए।

 

प्रकाशित: २३ वैशाख २०७६ १३:१७ सोमबार

सीसीडी_रेसियाे राष्ट्र_बैंक वाणिज्य_बैंक