अर्थ

डिस्टिलरी प्रयोगबिहीन

सोलुखुम्बु – सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि वर्षौंअघि खरिद गरिएको डिस्टिलरी प्रयोगबिहीन रहेका छन्। गत साता बागवानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका तीन थान डिस्टिलरी प्रयोगबिहीन रहेको पाइएको हो। गार्माका आङबाबु शेर्पा र फाप्लुका छिरिङ तेन्जिङ लामाको घरमा राखिएको स्याउ प्रशोधन मेसिन प्रयोग नभएको अवस्थामा भेटिएको वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए। पत्ताले क्षेत्रमा एउटा र बागवानी केन्द्रमा रहेको डिस्टिलरी पनि प्रयोगमा ल्याइएको छैन।

डिस्टिलरीका सञ्चालक विदेशी भूमिमा जानु र स्याउ उत्पादनमा कमी आउनुले पनि प्रशोधन मेसिन प्रयोगमा आउन नसकेको हो। वर्षौंअघि खरिद गरिएको लाखौंको मेसिन प्रयोगमा नआउनुले नोक्सानी भएको वरिष्ट बागवानी विकास अधिकृत श्रेष्ठले बताए।

बागवानी केन्द्रको भने पूरा सामान नभएका कारण प्रयोगबिहीन बनेको हो। बजेट व्यवस्थापन गरी बन्द प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागिएको बागवानी केन्द्रले जनाएको छ। प्रशोधन मेसिन प्रयोगमा ल्याए किबी फलको पनि ब्रान्डी तयार पार्न सकिने सम्भावना रहेको प्राविधिकको भनाइ छ।
 

प्रकाशित: २३ वैशाख २०७६ ०६:१४ सोमबार

स्याउ_प्रशोधन डिस्टिलरी बागवानी_केन्द्र_फाप्लु