अर्थ

एउटै गाउँबाट सवा चार करोडको अदुवा निर्यात

जिल्लाबाहिर निर्यात गर्न व्यवसायीले प्याकिङ गरिँदै। तस्बिर: लोकेन्द्र/नागरिक

रुकुम - रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका–६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका उनले गत वर्षभन्दा यो वर्ष तीन क्विन्टल बढी उत्पादन गरेको जानकारी दिए।

उक्त अदुवामध्ये अहिलेसम्म १७ क्विन्टल बिक्री गरिसकेको पुनले बताए। १० क्विन्टल उनले घरमै राखेका छन्। अर्काे वर्ष बारीमा लगाउन आवश्यक पर्ने बीउका लागि उक्त अदुवा राखेको उनको भनाइ छ। १७ क्विन्टल अदुवा बेचेर यो वर्ष दुई लाख ४६ हजार आम्दानी गरेको पुनले जानकारी दिए।

‘गत वर्ष ८० हजार मात्र आम्दानी भएको थियो, यो वर्ष अदुवाको भाउ राम्रो आयो। त्यसैले आम्दानी पनि राम्रै भयो,’ उनले भने, ‘यो वर्ष अहिलेसम्मकै बढी मूल्यमा अदुवा बिक्री गरेका छौं।’ पोहोरभन्दा झण्डै तीन गुणा बढी मूल्यमा अदुवा बेचेको उनले जानकारी दिए।

आफूले प्रत्येक वर्ष अदुवा उत्पादन गर्ने गरे पनि सहज रुपमा बिक्री गर्न भने यो वर्ष मात्र पाएको पुनको भनाइ छ। हरेक वर्ष अदुवा बिक्री गर्दा निकै गाह्रो हुने उचित मूल्य नपाउने समस्या थियो। अदुवा बिक्रीबाट आएको रकमले दैनिक खर्चका साथै छोराछोरीको पढाइ खर्च पनि व्यवस्थापन गर्दै आएको उनले जनाए।

सोही गाउँका अर्का किसान गोपाल ओलीले पनि अदुवा उत्पादन गर्दै आएका छन्। उनले पनि यो वर्ष  आठ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ आम्दानी गरेको जनाए। घरमै  बसेर राम्रै आम्दानी भएको ओलीको भनाइ छ। अन्य व्यवसायभन्दा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएपछि अदुवा खेतीमा आएको उनले बताए। कतारमा दुई वर्ष काम गरेर फर्केका ओली पछिल्लो समय अदुवाबाटै बर्सेनि लाखौं आम्दानी गर्ने गरेको बताउँछन्। त्रिवेणी गाउँपालिकाका ओली र पुन मात्र होइन प्रायः सबै किसानले हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका छन्। जिल्लामा सबैभन्दा त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गर्छ। 

त्रिवेणी गाउँपालिकाबाट मात्र यो वर्ष अहिलेसम्म चार करोड १५ लाख ४२ हजार पाँच सय रुपैयाँको अदुवा निर्यात भएको स्थानीय व्यावसायीको भनाइ छ। गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको दुई हजार आठ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्लाबाहिर निर्यात गरिएको स्थानीय व्यवसायी टेकबहादुर ओलीले जानकारी दिए। यस वर्ष किसानले उत्पादन गरेको अदुवा व्यवसायीले प्रतिक्विन्टल १४ हजार पाँच सय रुपैयाँका दरले खरिद गरेर बाहिर निर्यात गरेको उनले जनाए।

व्यवसायीले खरिद गर्दै आएको यो मूल्य गत वर्षभन्दा झण्डै तीन गुण बढी हो। गत वर्ष तीन हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टल बिक्री हुँदै आएको थियो। मूल्य बढी भएकाले किसानको आम्दानी पनि राम्रो भएको हो। उच्च मूल्यमा अदुवा बिक्री भएपछि किसान खुसी छन्। यहाँ उत्पादन भएको अदुवाको गुणस्तर बढी भएपछि मसला बनाउन यसको माग बढेको ओलीको भनाइ छ।

अहिले नेपालका काठमाडौं, चितवन, विराटनगर, पोखरा, नेपालगन्ज, दाङलगायत सहरबाट अदुवाको अत्यधिक माग हुँदै आएको उनले बताए। व्यापारीहरु अदुवा किन्न गाउँगाउँमा नै पुग्ने गरेका छन्। आफूहरुले उत्पादन गरेको अदुवा यस वर्ष बारीबाटै सहज रुपमा ब्क्रिी भएपछि निकै सहज भएको स्थानीय किसान अमर बुढाले बताए।

विगतमा उब्जाउ भएको अदुवा समयमै बिक्री नहुँदा सुठो बनाउनुपर्ने बाध्यता भए पनि यो वर्ष उक्त समस्या नरहेको उनले बताए। ‘हाम्रो गाउँमा धेरै अदुवा उत्पादन हुन्छ। विगतमा उत्पादन भए पनि समयमै बिक्री नहुँदा सुठो बनाएर बिक्री गर्नुपथ्र्याे,’ बुढाले भने, ‘सुठो बनाएर बेचे पनि उचित मूल्य नजाँदा खासै फाइदा हुँदैन्थ्यो। यो वर्ष भने व्यापारी घरमै आए। सजिलो भयो।’ यहाँका हरेक घरको अदुवा खेती छ। गाउँपालिकाको प्रमुख आयस्रोतका रुपमा अदुवा नै छ।

अदुवा उत्पादन बढाउन स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइएको छ। त्रिवेणी गाउँपालिकाले किसानले उत्पादन गर्ने अदुवालाई सहज रुपमा बिक्री गर्न यहीँ मसला उद्योग सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले जानकारी दिए। कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा मसला उद्योग स्थापनाको काम सुरु भएको उनले बताए।

‘हाम्रो गाउँपालिकाबाट वार्षिक चार–पाँच करोड रुपैयाँको अदुवा निर्यात हुने गर्छ,’ रावलले भने, ‘किसानले उत्पादन गरेको अदुवा सदुपयोग गरी आर्थिक जीवनस्तर सुधार गर्न उद्योग स्थापनाको काम सुरु भएको छ।’ यसका साथै गाउँपालिकाले कति अदुवा उत्पादन हुन्छ भनेर यकिन जानकारीको लागि तथ्यांक संकलनको काम सुरु गरेको उनले बताए।

प्रकाशित: २० वैशाख २०७६ ०१:५० शुक्रबार

त्रिवेणी_गाउँपालिका अदुवा आम्दानी