अर्थ

क्षेत्रीय समृद्धिमा जोड

काठमाडौं - सार्क उद्योग वाणिज्य संघको ७७औं बैठक काठमाडौंमा सुरु भएको छ। बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बिहीबार एक समारोहबीच चन्द्रागिरीमा उद्घाटन गरेका छन्। बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो। 

बैठकलाई सम्बोधन गर्दै सभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्य हासिल गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए।

दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सभामुख महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताए। ‘आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा एकीकृत प्रयासको खा“चो छ,’ सभामुख महराले।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एसियामा नेपाल लगानीका लागि राम्रो वातावरण बन्दै गएको बताइन्। अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तारमार्फत यस क्षेत्रले समृद्धि हासिल गर्ने धारणा राखिन्। हालै सम्पन्न लगानी सम्मेलनबाट सार्कलगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा राम्रो सन्देश गएको उनको भनाइ थियो। उनले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तारमार्फत यस क्षेत्रको समृद्धि हासिल गर्ने कार्यमा सार्क उवासंघको नेतृत्वदायी भूमिकाको अपेक्षा रहेको बताइन्।

नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडि बढाउनु पर्नेमा जोड दिए। यसको नेतृत्व सार्क उवासंघजस्ता संस्थाले लिनुपर्ने सुझाव राख्दै उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकामा खुसी प्रकट गर्दै बैठक गर्न महासंघबाट पाएको सहयोगका लागि अभारसमेत प्रकट गरे। अध्यक्ष इदरिसिंघेले सहकार्य, केनेक्टिभिटी, स्वतन्त्र आवतजावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रबीच सामूहिक प्रयासमा जोड दिएका थिए।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउँदै अगाडि बढ्नु पर्नेमा जोड दिए। उपाध्यक्ष ढकालले यस क्षेत्रमा पूर्वाधार निर्माण, ऊर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा आपसी सहकार्य  र संयुक्त लगानीको आवश्यकतामा जोड दिए। साथै उनले बाह्य लगानी आकर्षणका लागि नेपालले गरेका नीतिगत सुधार लगायतका विषयमा समेत प्रष्ट पारे।
सार्क उवासंघका पूर्वअध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलिले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका अजेन्डालाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै सार्क उवासंघले क्षेत्रीय विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने धारणा राखे।

बैंठकको उद्घाटन कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य, सार्क उवासंघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, नेपाललगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीको सहभागिता रहेको थियो। संघको बैठक शुक्रबारसम्म चल्ने छ।

प्रकाशित: २० वैशाख २०७६ ०१:२७ शुक्रबार

सार्क_उद्योग_वाणिज्य_संघ प्रतिनिधिसभा कृष्णबहादुर_महरा