अर्थ

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

चौतारा – २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

बन्द नाकासँगै लार्चामा निर्मित सुक्खा बन्दरगाह बुधबार हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महिना पछि सरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजुले जानकारी दिए।

बन्द नाका खुलाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नि सापकोटा, घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार राजन भट्टराई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सकाउन सम्बन्धित सचिवलाई निर्देशन दिएका थिए।

बाह्रबिसे नगरपालिकाअन्तर्गत गातीको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ। सीमा पुलको काम आउँदो एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ २४सै घन्टा मजदुर खटिएर काम भइरहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

लार्चामा निर्माण भएको अत्याधुनिक सुक्खा बन्दरगाहको छिटफुटबाहेक सबै काम सम्पन्न भइसकेको छ। बाह्रबिसेदेखि बसेरी सडकमा पर्ने जग्गा दुई किलोमिटर भागमात्र ग्राभेल गरिएको उक्त साइट हेर्ने सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर प्रदीप निरौलाले बताए।

गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको पक्की पुलको ठाउँमा आगामी सातामा बेलिब्रिज जडान गरिने भएको छ। पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिए पनि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट निकासा नदिएकाले विकल्पको रुपमा बेलिब्रिज राख्नुपरेको इन्जिनियर निरौलाले बताए। रासस

प्रकाशित: १९ वैशाख २०७६ ०१:४७ बिहीबार

भूकम्प तातोपानी_नाका अरनिको_राजमार्ग