अर्थ

बाँसखर्कमा घरबास निर्माण शुरु

तनहुँ – भानु नगरपालिका–११ बाँसखर्कमा घरबास निर्माण कार्य सुरु भएको छ। गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण सुरु भएको हो।

गुरुङ समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा अहिले पाँच घरबाट होमस्टे सुरु गर्न लागेको बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए। ‘स्थानीयवासी पर्यटकलाई आकर्षित गर्न यतिबेला बाटोमा ढुंगा छाप्ने काम गरिरहेका छन्,’ अध्यक्ष गुरुङले भने। होमस्टे निर्माणमा स्थानीयले चासो दिएर काम गर्न थालेका छन्।

पाँच घरबाट सुरु गरिएको होमस्टेमा १० जना पाहुना राख्न सकिने उनले जानकारी दिए। ‘यो होमस्टेमा आउने पाहुनालाई अर्गानिक एवं स्थानीय गाउँघरमा उत्पादित परिकारको व्यवस्था हुनेछ,’ उनले भने। प्रत्येक कोठामा दुईवटा खाट राखिने र एउटा खाटमा एकजना मात्र पाहुनाको व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताए। उनका अनुसार पाँच घर होमस्टे निर्माणमा तीनवटा घर भूकम्प प्रतिरोधी रहने र दुईवटा पुराना घरलाई रङरोगन गरेर बनाउन लागिएको हो।

उक्त क्षेत्रबाट हिमशृंखलाको साथै मनोरम दृश्य सजिलै देख्न सकिने हुँदा एकपटक पुगेका जो कोही पाहुना दोहो¥याएर आउन सक्ने सम्भावना रहेको वडाध्यक्ष तारानरेश पौडेलले बताए। ‘स्थानीयवासी स्वागत गेट निर्माणको साथै बाटोमा ढुंगा बिछ्याउने कार्यमा यतिबेला व्यस्त देखिन्छन्,’ उनले भने। ५८ घरपरिवार रहेको उक्त क्षेत्रमा दमौली बजारबाट डुम्रे बजार हुँदै करिब दुई घन्टाको यातायात सेवाबाट पुग्न सकिन्छ।

प्रकाशित: १९ वैशाख २०७६ ०१:१७ बिहीबार

भानु_नगरपालिका गण्डकी_प्रदेश होमस्टे