अर्थ

नेप्से एघार महिनायताकै उच्च विन्दुमा

काठमाडौं–सेयर बजार मापक नेप्से एघार महिनायताकै उच्च विन्दुमा आइपुगेको छ। गत वर्षको जेठ १७ गते १३०७.६६ विन्दुमा नेप्से रहेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेर ११०० सय अंक नजिक आएको थियो।

केही समययता निरन्तर उकालो लागेर नेप्से आइतबार १३१४.१५ विन्दुमा आइपुगेको छ। यो गत जेठ १७ गते यताकै उच्च हो।

नयाँ वर्ष लागेसँगै नेप्सेमा उच्च अंकले बढन पुगेको छ। चैतको अन्त्यमा ११८८.७१ विन्दुमा रहेको नेप्से आइतबारसम्ममा १२५.८ विन्दुले बढेर १३१४.५१ विन्दुमा आइपुगेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि बृद्धि भएको छ। दैनिक ४०/५० करोडको सेयर कारोबार हुँदै आएको पछिल्लो समय अर्ब भन्दा बढी कारोबार हुन थालेको छ। आइतबार एक अर्ब ६७ कारोडको सेयर कारोबार हुन पुगेको छ। उक्त कारोबार एक वर्षयताकै उच्च हो।

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेकाले सेयर बजार बढेको लगानीकर्ताको भनाइ छ। बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकाले सेयर बजारमा सुधार आएको हो।

बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को अभावको समस्या सामाधान हुने अपेक्षा पनि लगानीकर्ताले गर्न थालेका छन्। चालु आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढने र त्यो रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलताको अभाव हटने अनुमान गरिएको छ तरलताको अभाव अन्त्य भएमा सेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले पनि सेयर बजारमा सुधार देखिएको ब्रोकरको भनाइ छ।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य रकमको अभाव खेपिरहेका थिए। त्यसकै प्रभावका कारण सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो। तर, अहिले तरलताको अभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।

लगानीयोग्य रकमको अभावले सात–आठ प्रतिशत ब्याजमा पाइने सेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेको थियो। तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशा गरेका छन्। यसले गर्दा पनि सेयर बजार बढेको हो।

२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ विन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आएपनि पछिल्ला दिनमा सुधारका संकेतहरु देखिएका छन्।

राष्ट्र बैंकले लगानी योग्यपुँजीको पुँजीको अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेको छ। यसले बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले पनि बजार बढ्न पुगेको बिश्लेषकको भनाइ छ।

आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानी योग्यपुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि सेयर बजारमा सुधार आउन पुगेको बिज्ञहरु बताउँछन्।

सेयरमा ‘सिजन’ र ‘अफ सिजन’को चर्चा गरिन्छ। चैतअघि अफ सिजन र पछि सिजनको रुपमा लिने गरिन्छ। नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गर्न थालेकाले पनि सेयर बजारका सुधार आएको ब्रोकरको भनाइ छ।

गते                नेप्से
वैशाख २        ११८८.७१
वैशाख ३        १२१२.०५
वैशाख ४        १२१७.०४
वैशाख ५        १२ं३२.२६
वैशाख ८        १२६४.२०
वैशाख १५       १३१४.५१
        

 

प्रकाशित: १६ वैशाख २०७६ ०५:३६ सोमबार

नेप्से सेयर_बजार उच्च_विन्दु स्टक_एक्सचेन्ज