अर्थ

स्थानीय मौलिक उत्पादनको प्रवर्द्धनमा जोड

भक्तपुर - सहकारी संस्थाले स्थानीय स्रोत र साधन परिचालन गर्दै मौलिक उत्पादन प्रवद्र्धनका लागि लगानी गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुरको मौलिक काष्ठकला, चित्रकला, मुकुन्डो कला, मृतिकाकलालगायत अन्य विविध कला र सीपसम्बन्धी तालिम सञ्चालन गरी नगरवासीमा रोजगारीको अवसर सिर्जना गर्न सहकारी संस्थाले भूमिका खेल्नुपर्नेमा पनि उनीहरुले जोड दिए।

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका अध्यक्ष र लेखा समितिका संयोजकबीच बुधबार भएको अभिमुखीकरण कार्यक्रममा उनीहरुले सहकारीले समाजको आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने बताए। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादी मुलुकले आर्थिक सहयोगका नाममा विभिन्न अनुचित सर्त राखेर विकासोन्मुख मुलुकको सार्वभौमिकतामाथि खुला हस्तक्षेप गर्नेतर्फ सचेत हुनुपर्ने बताए। प्रमुख प्रजापतिले वित्तीय क्षमताअनुसार सहकारीले सामाजिक कल्याण र स्थानीय विकासका लागि समेत लगानी गर्नुपर्नेमा जोड दिए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले गरिब जनताको जीवन उत्थानको निम्ति सहयोगी संस्थाको रुपमा भूमिका खेल्नुपर्ने बताइन्। उनले भक्तपुर नगरपालिकाको लक्ष्य प्राप्तिमा सहकारी संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिइन्।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सहकारी साझा हितको निम्ति हुनुपर्नेमा जोड दिए। भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले सहकारी संस्थाले देशको आर्थिक, सामाजिक क्षेत्रको सुधारका लागि आवश्यक भएको बताए। भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाका मूलभूत सिद्धान्तबारे प्रस्ट पार्दै सहकारी संस्थाको मूल्य मान्यता अगाल्दै पारदर्शी ढंगले कार्य सञ्चालन गर्नुपर्ने धारणा राखे।

प्रकाशित: १२ वैशाख २०७६ ०२:३२ बिहीबार

सहकारी काष्ठकला भक्तपुर_नगरपालिका लेखा_समिति