अर्थ

युवा स्वरोजगारको ६७ लाख असुल्न बाँकी

रुकुम - बेरोजगार युवालाई व्यवसायमा सहभागी गराएर स्वरोजगार बनाउन उपलब्ध गराइएको करिब एक करोड रकम असुल हुन सकेको छैन। युवा स्वरोजगार कोषअन्तर्गतको ६७ लाख रुपैयाँ अझैसम्म असुल हुन नसकेको हो।
जिल्लाका विभिन्न ठाउँमा लगानी गरिएको रकम अझैसम्म पनि असुल हुन नसकेको बताइएको छ। जिल्ला कृषि विकास कार्यालयमार्फत २०६९ मा लगानी भएको झन्डै एक करोड रुपैयाँमध्ये ६७ लाख रुपैयाँ अझैसम्म पनि असुल हुन नसकेको कार्यालयले जनाएको छ।

कोषको रकम वास्तविक वेरोजगार युवाले भन्दा पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताले लिएका कारण असुल गर्न समस्या परेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए। जिल्लामा ६३ युवालाई स्वरोजगार कोषको रकम वितरण गरिएको थियो।

रकम लिएकामध्ये ३३ युवाबाट साँवा र ब्याज असुली हुन नसकेको उनले बताए। ३३ जनाबाट साँवाबापत ३९ लाख र ब्याजवापत २८ लाख गरी जम्मा ६७ लाख रुपैयाँ असुल हुन बाँकी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए। २०७४ भित्र असुल हुनुपर्ने रकम अझैसम्म पनि असुल हुन सकेको छैन। ‘रकम लिएकाको बैंकमा कुनै धितो छैन,’ उनले भने, ‘धितो नभएकाले पनि असुली गर्न थप समस्या भएको छ।’

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतमा ऋण लगानी गरेको थियो। बिनाधितो रकम वितरण गरेका कारण असुलीमा थप समस्या भएको बताइएको छ। पहुँच र प्रभावका कारण ऋण लिने तर व्यवसाय नगरेका कारण रकम असुली हुन नसकेको हो। ‘साना किसान र मजदुरबाट रकम असुली गरिसके, तर ठूला नेता तथा कार्यकर्ताले रकम बुझाएका छैनन्,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘रकम भुक्तानी गर्न कार्यालयबाट बारम्बार पत्राचार गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन।’

स्वरोगजार कोषको रकम लिएर साँवा तथा ब्याज नबुझाएकाहरुको घरजग्गा रोक्का गरिएको कार्यालयले जानकारी दिएको छ। रकम भुक्तानी नगरेपछि जिल्ला मालपोत कार्यालयको सहयोगमा ऋणीको जग्गा रोक्का गरिएको बताइएको छ। पटक पटक ताकेता गर्दा पनि ऋण असुल नभएपछि १७ जना ऋणीको जग्गा रोक्का गरिएको कार्यालयको तथ्यांक छ। अन्य १६ जनाको पनि छानविन भइरहेको बताइएको छ। उनीहरुको जग्गा रोक्का गरी रकम असुल गर्ने तयारी गरेको कृषि विकास बैंकले जनाएको छ।

लामो समयदेखि युवा स्वरोजगारको रकम असुली नहुँदा थप दुरुपयोग भएको कार्यालयका कर्मचारीको भनाइ छ। कार्यालयमा पछिल्लो समय बिनाधितो ऋण प्रवाह गर्ने कार्यक्रम भए पनि  लगानी गर्न कर्मचारी डराएका छन्। यसले सानो लगानीमा पनि व्यवसाय सञ्चालन गर्न चाहने वास्तविक किसानलाई समस्या भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट युवाले व्यवसाय सञ्चालन गर्न चर्काे ब्याजमा कर्जा लिने गरेको छन्।

प्रकाशित: ११ वैशाख २०७६ ०४:१३ बुधबार

स्वरोजगार स्वरोजगार_कोष कृषि_विकास_कार्यालय