अर्थ

८० प्रतिशत पुनर्निर्माण सक्याैं : सुशील ज्ञवाली

काठमाडौं – भूकम्पको यो अवधिमा निजी आवास निर्माणलाई केन्द्रमा राखेर कार्य सम्पादन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।

२०७२ को भूकम्प स्मृति दिवसको अवसर पारेर प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निजी आवास निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको सीईओ ज्ञवालीले बताए।

‘अनुदान सम्झौता भएका सात लाख ६२ हजार तीन सय सात घरमध्ये ६ लाख १२ हजार नौ सय ३५ घर पुनर्निर्माण प्रक्रियामा छन्,’ उनले जानकारी दिँदै भने, ‘यसमध्ये ५० प्रतिशत आवासको पुनर्निर्माण सम्पन्न भएको छ। दुई लाख तीस हजार ६ सय ५८ आवास निर्माणको क्रममा रहेको प्राधिकरणले बताएको छ। २०७२ साल वैशाख १२ गतेकोे विनाशकारी भूकम्पका कारण नौ खर्ब ३८ अर्बको क्षति भएको थियो।

भूकम्पका कारण जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

पछिल्लो समय प्राधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचना पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ।

भूकम्पबाट सात हजार पाँच सय ५३ विद्यालय क्षति भएकोमध्ये ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ। सोमध्ये एक हजार सात सय ७२ विद्यालय पुनर्निर्माण क्रममा छन्।
स्वास्थ्यसंस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धि हासिल भएको छ।  ६ सय ४३ वटा स्वास्थ्य संस्था पुनर्निर्माण सकिएको छ भने एक सय ४५ स्वास्थ्य संस्था पुनर्निर्माण क्रममा रहेको सीईओ ज्ञवालीले बताए।

पुराताŒिवक महत्वको सम्पदा पुनर्निर्माणमा दुई सय २४ वटा अर्थात् ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको छ। दुई सय २१ वटा अर्थात् २९ प्रतिशत पुरातात्विक सम्पदा पुनर्निर्माण क्रममा छन्।

यसको कलात्मक पक्षको जगेर्ना, प्राचीन निर्माण सामग्री प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्धलगायत मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य जटिल र धेरै समय लाग्ने देखिएको ज्ञवालीले बताए। सम्पदा पुनर्निर्माणका क्रममा उठेका मुद्दा सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डपलगायत उपत्यकाभित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदा पुनर्निर्माण द्रुत गतिमा अघि बढेको प्राधिकरणले जनाएको छ।

‘गुम्बाहरु पुनर्निर्माणका लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ,’ ज्ञवालीले भने, ‘केही समयपछि गुम्बाहरुको पनि पुनर्निर्माण सुरु गर्नेछौं।’ प्राधिकरणका अनुसार सुरक्षा निकायका भवनहरूको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ। 

सुरक्षा निकायको एक सय ४५ वटा भवनको पुनर्निर्माण सकिएको छ भने ७१ वटा भवन पुनर्निर्माण क्रममा छन्। भूकम्पबाट क्षति भएका सरकारी भवन, सडक, खानेपानीलगायत संरचना पनि पुनर्निर्माण क्रममा छन्।

प्रकाशित: १० वैशाख २०७६ १३:१० मंगलबार

पुनर्निर्माण भूकम्पकाे_चार_वर्ष सुशील_ज्ञवाली राष्ट्रिय_पुनर्निर्माण_प्राधिकरण