अर्थ

पाँच दिनमा ७५.४९ बिन्दुले बढ्यो

काठमाडौं - नयाँ वर्षको सुरुवातदेखि नै सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। चैतको अन्त्यमा ११८८.७१ बिन्दुमा रहेको नेप्से आइतबारसम्ममा १२६४.२० बिन्दुमा आइपुगेको छ। पाँच कार्य दिनमा नेप्से ७५.४९ बिन्दुले बढेको हो। यो साताको पहिलो दिन आइतबार ३१.८९ बिन्दुले उकालो लाग्यो।

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेकाले सेयर बजार बढेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। ‘अन्य कारणभन्दा पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकोले सेयर बजारमा सुधार आएको हो,’ उनले भने, ‘सेयर बजार बढ्ने संकेत देखिएपछि सबैले सेयर खरिद गर्न थालेपछि नेप्से बढेको हो।’

बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय सकारात्मक धारणा बनाउन पुगेको उनको भनाइ छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा पनि लगानीकर्ताले गर्न थालेका छन्। चालु आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलताको अभाव हट्ने अनुमान गरिएको छ। अर्यालले भने, ‘तरलताको अभाव अन्त्य भएमा सेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरेकाले पनि सेयर बजारमा सुधार आएको हो।’ 

चालुु आर्थिक वर्ष सुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका थिए। त्यसकै प्रभावका कारण सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो। तर, अहिले तरलताको अभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। लगानीयोग्य रकम अभावले ७–८ प्रतिशत ब्याजमा पाइने सेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेको थियो। तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आस गरेका छन्। यसले गर्दा पनि सेयर बजार बढेको हो।

२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छन्। १२ सय बिन्दुभन्दा तल आइपुगेको नेप्से आइतबार १२६४.२० बिन्दुमा पुगेको छ। राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेको छ। यसले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले बजार बढ्न पुगेको विश्लेषकको भनाइ छ।

आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि सेयर बजारमा सुधार आएको विज्ञहरु बताउँछन्। सेयरमा ‘सिजन’ र ‘अफ सिजन’को चर्चा गरिन्छ। चैतअघि अफ सिजन र पछि सिजनको रुपमा लिने गरिन्छ। नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गर्न थालेकाले पनि सेयर बजारका सुधार आएको ब्रोकरको भनाइ छ।
केही समयअघि अर्थमन्त्री खतिवडाले ‘सिजनमा काउलीको भाउ २० रुपैयाँ किलोमा पनि झर्छ। बेसिजनमा महँगिएर सय रुपैयाँ पनि नाघ्छ। सेयर बजार पनि त्यस्तै हो’ भनेका थिए। त्यसले पनि सेयर बजारको उतार–चढावलाई बुुझ्न सहज हुने ब्रोकरको भनाइ छ।

सेयर बजार निरन्तर ओरालो लागेपछि सुधारका लागि दबाब दिन थालेपछि सरकार पनि उक्त विषयमा गम्भीर बन्न पुगेको छ। एक महिनाअघि सेयर बजार घटेकोप्रति राष्ट्रियसभामै चर्चा भएको थियो। नेपाली कांग्रेसले नयाँ सरकार गठनपछि सेयर बजार झर्नु सुखद नभएको भन्दै चिन्ता जाहेर गरेको थियो। सेयर बजारमा गरिएको जनताको लगानी डुब्ने खतरा बढेको भन्दै सरकारलाई सचेत बनाएको थियो। यस्ता कारणले पनि सेयर बजारमा सुधार आउन पुगेको अर्यालले बताए। नयाँ सरकारप्रति सशंकित बनेका लगानीकर्ता सेयर बजार सुधारप्रति अर्थमन्त्री र गभर्नर सकारात्मक बन्न थालेपछि सुधारको संकेत देखिएको विश्लेषकको भनाइ छ। 

 

प्रकाशित: ९ वैशाख २०७६ ०१:४२ सोमबार

नयाँ_वर्ष नेप्से