काठमाडौं - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिलेसम्म सबै विमान खरिद प्रक्रिया अध्ययन गरी प्रतिवेदन तयार पारेको छ।
विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ। सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको हो। यही वैशाख १९ गते उक्त समितिले यससम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउने छ।
विमान खरिद प्रक्रियाका अहिलेसम्मका कमजोरी केलाएर नीति नियममा सुधार गर्न लागिएको समितिकाे विमान खरिद अध्ययन उपसमित संयोजक दीपकराज भट्टले बताए। ‘खरिद प्रक्रियामा कहाँ कहाँ लुप होल छन्, यसमा सुधार गर्ने हाम्रो प्रयास हो’, उनले बताए।
महालेखाको प्रतिवेदनले पनि वाइडवडी खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको छ। विमान खरिदका लागि स्वीकृत प्रस्ताव, सम्झौता तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दर्ता प्रमाणपत्रलगायत कागजातमा विमानको मोडेल नम्बर तथा इन्जिन र एअरक्राफ्ट क्रम नम्बर फरक फरक किसिमको उल्लेख गरेको छ।
सम्झौताअनुसार दुई वटा विमानको २३ अर्ब २० करोड ८३ लाख दुई हजार भुक्तानी भएको देखिन्छ। बिल बिजकको निश्चित ढाँचाबेगर आपूर्तिकर्ताले खाली कागजमा अन्य व्यहोरा नखुलाई इन्भ्वाइस भनी रकम मात्र उल्लेख गरेको कागजलाई बिल बिजक मानी भुक्तानी गरेको छ।
हाल नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय क्षेत्रमा चल्ने चार वटा जहाज छन्। दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छ। ए३२०–२०० सगरमाथा र लुम्बिनी दुई वटा न्यारोबडी जहाज छ। १५८ सिट क्षमता भएको उक्त जहाजले विभिन्न देशमा सेवा दिइरहेको छ। २ सय ७४ सिट क्षमता भएको अन्नपूर्ण र मकालु नामक ए३३०–२०० वाइडबडीमा छ। निगमले गएको असार १४ र साउन १५ मा क्रमशः जहाज खरिद गरेको हो।
यसबाहेक निगमसँग बोइङ जहाज एउटा छ। उक्त जहाज गत जनवरीदेखि ग्राउण्डेड छ। सिंगापुरमा तीन महिना लगाएर उक्त जहाज बनाएर ल्याएको थियो।
नेपालमा पहिलो सन् १९४९ मा पहिलो पटक विमान अवतरण भएको थियो। त्यसयता उड्डयन क्षेत्रमा दर्जन पुग÷नपुग विमान र हेलिकप्टर कम्पनी प्रवेश भएका छन्। अहिले फिक्स विङस् (स्थिर पखेटा) भएका विभिन्न कम्पनीले उडान भरिरहेका छन्।
नेपाल एयरलाइन्स, बुद्ध, श्री, तारा, सिम्रिक, समिट, मकालु, यती, सौर्य र सीता एयर गरी १० वटा कम्पनीले नियमित उडान भर्ने काम गरिरहेका छन्। रोटर विङ्स भएको हेलिकप्टर सिम्रिक, श्री, हेली एभरेस्ट, फिस्टल, अल्टिच्युट, माउन्ट हेलिकप्टर, एयर डाइनेस्टिक र मनाङ गरी १० कम्पनीले सेवा दिइरहेका छन्।
प्रकाशित: ६ वैशाख २०७६ १३:२० शुक्रबार