अर्थ

एलआइसीको धनवृष्टि योजना लोकप्रिय

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको बिक्रीमा रेकर्ड कायम भएको छ। कम्पनीले यो योजना बिक्री सुरु गरेको पहिलो दिनमा पाँच हजार एक सय २२ बिमालेख बिक्री गरी ८.५ करोड प्रथम बिमा शुल्क आम्दानी गरेको जनाएको छ।

कम्पनीले पहिलो दिनमा देशभरीका शाखा कार्यालयबाट पाँच हजार पोलिसी बिक्री गर्ने लक्ष्य राखेको थियो। कम्पनीका देशभरका सात सय ४६ अभिकर्ताले उक्त परिमाणमा धन वृष्टि बिमालेख पहिलो दिनमा बिक्री गरेका थिए। यो योजना बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले चैत २९ गते सार्वजनिक गरेका थिए। कम्पनीका अनुसार धन वृष्टि योजना धन फिर्ता योजना हो। १३ देखि ६० वर्षसम्म उमेरका व्यक्तिले बिमालेख लिन सक्नेछन्। यसको न्यूनतम बिमांक रकम एक लाख कायम गरिएको कम्पनीको भनाइ छ। यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन्।

१० वर्षे योजनामा ३ र ६ वर्षमा बिमांकको ३३ र ३३ प्रतिशत र १० वर्षमा बिमांकको ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ठ प्राप्त हुन्छ। त्यस्तै, १५ वर्षे योजनामा ३, ६, ९ र १२ वर्षमा बिमांकको १५–१५ प्रतिशतका दरले रकम फिर्ता हुनेछ। पाँच वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ठ प्राप्त हुन्छ। यो योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। दुई वर्षको बिमा शुल्क भुक्तानीपछि बिमितले कम्पनीबाट कर्जा तथा बिमा समर्पण सुविधासमेत लिन सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: ६ वैशाख २०७६ ०१:४८ शुक्रबार

लाइफ_इन्स्योरेन्स आम्दानी बिमालेख