अर्थ

कृति अवार्डको टाइटल स्पोन्सर सिजी

काठमाडौं - नेपाल विज्ञापन संघ (आन) को ११औं कृति अवार्डमा टाइटल स्पोन्टसर चौधरी ग्रुप (सिजी) ले गर्ने भएको छ।

चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। आनले आगामी भदौ ६ गते आयोजना गर्न लागेको उक्त अवार्डका लागि बिहीबार सम्झौता गरेको हो।

आनका अध्यक्ष रिजालले विज्ञापनका सिर्जनशील हातहरुलाई सम्मान गर्ने कृति अवार्ड विज्ञापन क्षेत्र मिडिया र विज्ञापनदाताको सामूहिक उत्सव रहेको बताए। ‘नेपालको विज्ञापन क्षेत्रको वृद्धिले देशको अर्थतन्त्रलाई मजबुत बनाउने गर्छ। यसलाई थप गुणस्तरीय बनाउन कृति अवार्डले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘आन स्थापना भएको आज २८ वर्ष भइसकेको छ। यस क्रममा नेपालको आर्थिक सुधार र समृद्धिसँगै स्वतन्त्र पत्रकारिता गर्न हामीले महत्वपूर्ण भूमिका खेल्दै आएका छौं।’

यसपटकको कृति अवार्ड भव्य र सभ्य बनाउन प्रयत्न भइरहेको उनले बताए। कार्यक्रममा आनका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले पछिल्लो समय ४० प्रतिशतले विज्ञापन बजार घटेको बताए। विज्ञापन बजार ओरालो लागि रहेको अवस्थामा कृति अवार्डले नयाँ आयाम ल्याउने उनको भनाइ थियो।

ठूला ब्रान्डहरुले विज्ञापन अभियान रोकेका छन्। यसरी अभियान रोक्ने हो भने देशको अर्थतन्त्रमा असर पुग्ने राजकर्णिकारको भनाइ छ। यो माहोल अन्त्य गर्दै विज्ञापनको बजार सिर्जनशील बनाउन कृति अवार्डका लागि सिजी ग्रुपसँगको सम्झौता ऐतिहासिक हुने उनको भनाइ थियो।

उनका अनुसार अहिले तीन दर्जन न्युज पोटेल ठूला लगानिमा सञ्चालन भएका छन्। छापा र टेलिभिजनको उस्तै बजार छ तर, विज्ञापन बजार भने खस्किँदै गएको राजकर्णिकारले बताए। सम्झौतापछि चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विज्ञापन क्रियटिभ आइडियामाथि वेस्ट आइडिया सेल गर्ने बजार भएको बताए। ‘यसमा क्रियटिभ, ट्यालेन्ट, इनर्जी, पावर, नलेज र डाइनामिक हुन्छ,’ उनले भने, ‘हामी क्रियटिघ प्रोजेक्टका लागि सदैव तयार छौं। सिजी ग्रुपले ट्यालेन्ट नलेजसँग सम्झौता गर्छ।’

कार्यक्रममा सिजीका वरिष्ठ महाप्रबन्धक प्रदिप पुडासैनी र सहायक महाप्रबन्धक लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्ष लगायत पदाधिकारीको उपस्थिति थियो। कृति अवार्डको टाइटल स्पोन्सरमा नेपाल आइस र पावर्ड बाई सिजी सिमेन्ट हुनेछ। चौधरी गु्रपको कृति अवार्डको यो सम्झौता पाँचौ संस्करण हो।

प्रकाशित: ६ वैशाख २०७६ ०१:३६ शुक्रबार

नेपाल_विज्ञापन_संघ कृति_अवार्ड चौधरी_ग्रुप