अर्थ

नेपालगञ्जमा सोल्टी होटल

नेपालगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगञ्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ होटलको उद्घाटन गरेका छन्। एक वर्ष पहिले सञ्चालनमा आएको यो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको महाप्रबन्धक इन्द्र खड्काले बताए। खड्काका अनुसार यसले नेपालगञ्जमा आर्थिक गतिविधि र रोजगारी बढाउन सहयोग पुग्नेछ।

कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका नेता र नागरिक अगुवाको सहभागिता थियो।  होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले यसबाट आफूहरु उत्साहित भएको बताए।
होटलका महाप्रबन्धक खड्काका अनुसार जिरो कार्बन फुटप्रिन्ट र वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको उक्त होटलमा फोहर व्यवस्थापन प्रविधिले फोहर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्ने प्रविधि जडान गरिएको छ। सोल्टीलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटलका रुपमा मानिएको छ।

करीब ३८ कट्ठा  क्षेत्रफलमा निर्माण गरिएको उक्त होटल काठमाडौंस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो। एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको होटलमा ८१ कोठा छन्। बार, रेस्टुराँ, ब्याङ्क्वेटका साथै सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ र  स्विमिङपुलको सुविधा लिनसक्ने खड्काले बताए।

प्रकाशित: ६ वैशाख २०७६ ०१:०५ शुक्रबार

केपी_शर्मा_ओली पाँच_तारे_होटल नेपालगञ्ज