अर्थ

कालो सूचीमा रहेको पप्पु कन्ट्रक्सनले ठेक्का लिएको पुल एक वर्षमै बन्ने

क्याप्सनः कमला नदीमा निर्माण अलपत्र परेको पक्की मोटरेवल पुल। तस्विरः महेश्वर

काठमाडौं – उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणधिन पक्की मोटरेबल पुल ठेकेदार कम्पनी लुम्बिनी बिल्र्डस्ले एक वर्षभित्रमा बनाउने भएको छ। यो पुल निर्माण गर्न करिव ६ वर्ष अघि पप्पु कन्ट्रक्सन र लुम्बिनीले ठेक्का लिएका थिए।

दुई कम्पनीले साझेदारीमा पुल निर्माणको ठेक्का लिए पनि लुम्बिनीले पप्पुलाई काम गर्ने जिम्मेवारी दिएको थियो। ठेक्का लिएको ६ वर्षसम्म काम नगरेको र यही बीचमा सरकारले पप्पुलाई कालो सूचिमा राखे पछि ठेक्का सम्झौता गरेको अर्को कम्पनी लुम्बिनीले एकलौटी रुपमा पुल बनाउने भएको हो।

‘हामीले एकवर्ष भित्रमै कमलापुल निर्माण पुरा गर्नेछौं,’ लुम्बिनी बिल्र्डस्का प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माले बिहीबार नागरिकसँग भने ‘काम सुरु गर्न सरकारी अधिकारीहरुसँग छलफल सुरु भएको छ।’ उनले तत्कालै काम सुरु गरी निर्माण पुरा गर्न एक वर्षभन्दा बढी समय नलगाउने दावी गरे। उनका अनुसार पुलको ठेक्का दुवै कम्पनीले लिएको भए पनि पहिले पप्पुले यसको निर्माण गरिरहेको थियो। अहिले पप्पु कालोसूचीमा परेका कारण आफ्नो कम्पनीले निर्माणको जिम्मा लिएको शर्माले जानकारी दिए। ‘समयमा काम सम्पन्न नहुँदा व्यापक रुपमा जनगुनासाहरु आएका छन्। त्यो स्वभाविक पनि हो,’ प्रबन्ध निर्देशक शर्माले भने ‘अब कुनै पनि किसिमको जनगुनासो आउने वातावरण हुन दिनेछैनौ। यो हाम्रो कम्पनीको प्रतिवद्धता हो।’

शर्माले आफ्नो कम्पनीले कमलापुल नजिकै बनाउदै गरेको तावा खोला पुल पनि समय भन्दा एक वर्ष पहिले नै हस्तान्तरण गर्ने तयारीमा रहेको बताए। उनका अनुसार यो पुलको धेरै काम सकिएको छ। लुम्बिनीले चितवन राप्ती पुल, कर्णाली कोठीयाघाट पुललगायत करीब १५० भन्दा बढी जोखिमयुक्त पुल निर्माण सम्पन्न गरेको पनि शर्माले जानकारी दिए।

उदयपुर स्थित नागरिक संवाददाता महेश्वर चामलिङ राईका अनुसार यो पुल बनाउन अहिले लोकमार्ग आयोजना कार्यालयका कर्मचारी र साझेदार कम्पनी लुम्बिनीका अधिकारीहरुबीच छलफल चलेको छ। आयोजना कार्यालय प्रमुख (डिई) ललिजङ खनालले कमला पुल निर्माणमा पप्पुले हात झिके पछि अहिले लुम्बिनीलाई काम गराउन  छलफल चलेको जानकारी दिए।

‘पहिले पप्पु/लुम्बिनीले जिम्मा लिएको पुलको काम पप्पुले थालेको रहेछ,’ खनालले नागरिकसँग भने ‘ समयमा काम नसकेको अवस्थामा पप्पुमाथि कारबाही चलेपछि बाँकी काम गर्न साझेदार कम्पनी लुम्बिनीसँग छलफल भइरहेको छ।’
 सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तगत पर्ने यो पुल ६८ मा सम्झौता भएको हो।

सम्झौतामा ३ वर्षमा पुल तयार गर्नुपर्ने उल्लेख थियो। सम्झौताको पहिलो अवधि सकिएपछि सरकारले म्याद थप्दै आएको लोकमार्ग आयोजना कार्यालय गाईघाटले जनाएको छ। लोकमार्गअन्र्तगत चतारादेखि सिन्धुलीसम्म ४३ पुल पर्छन्। लोकमार्ग कार्यालयका इन्जिनियर गोविन्द दुमरुका अनुसार पुलको कुल लागत  ५३ करोड ७५ लाख ३ हजार हो। यसलाई ३४ करोड ५ लाखमा ठेक्का लिइएको थियो। इन्जिनियर दुमरुका अनुसार गत असारसम्म झण्डै ५० प्रतिशत काम सम्पन्न भएको छ। ५ सय मिटर लामो यो पुल १३ स्पानको हुनेछ।

प्रकाशित: ६ वैशाख २०७६ ००:४१ शुक्रबार

कमला_नदी ठेकेदार_कम्पनी पप्पु_कन्ट्रक्सन