अर्थ

चैतमा मात्रै १२ अर्ब रकमान्तर

काठमाडौं – पुँजीगत खर्च बढ्न नसकेको अवस्थामा सरकारले चैत महिनामा मात्रै ११ अर्ब ८८ करोड १० लाख ४२ हजार रुपैयाँ रकमान्तर गरेको छ।

अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको खर्च विवरणमा आर्थिक सहायतालगायत विकास निर्माणका कामका लागि उक्त बजेट रकमान्तर गरेको जनाएको छ।  

अर्थ मन्त्रालयका अनुसार पुष्पलाल लोकमार्गअन्तरगतका पाँच आयोजनाका लागि दुई अर्ब चार करोड रुपैयाँ रकमान्तर गरिएको छ। नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब ८१ करोड रुपैयाँ निकासा दिइएको छ।

सुनसरीमा लाग्ने पिण्डेश्वर अर्द्ध कुम्भ मेलालाई सरकारले ५० लाख रुपैयाँ दिएको छ। काठमाडौंमा हुने १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनको लागि १० लाख रुपैयाँ निकासा गरीएको छ। त्यस्तै रुपन्देहीमा तिनाउ र दानव नदी करिडोरका लागि १५ करोड रुपैयाँ निकासा दिइएको छ।

बहुवर्षीय ठेक्का लागेका योजनाका लागि सरकारले अहिले आएर बजेट रकमान्तर गरेको छ। यसअघि अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय सरकारको दायरामा नपर्ने यस्ता आयोजनालाई बजेट नदिने अडान राख्दै आएका थिए।

प्रकाशित: ४ वैशाख २०७६ १३:२८ बुधबार

पुँजीगत_खर्च रकमान्तर आर्थिक_सहायता बजेट_रकमान्तर