अर्थ

अझै ५९ अर्ब शोधनान्तर घाटा

काठमाडौं - चालु आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष फागुनसम्ममा यो २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष फागुनसम्ममा २४ करोड १४ लाखले घाटामा रहेकामा यो वर्ष ५१ करोड ८१ लाख रुपैयाँले घाटामा पुगेको छ। यस्तै समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई एक खर्ब ९१ अर्ब १३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा एक खर्ब ५४ अर्ब ९९ करोड रहेको थियो। राष्ट्र बैंकका अनुसार फागुनमा मूल्य वृद्धि ४.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे फागुनमा यो ६ प्रतिशत थियो। बैंकका अनुसार यो अवधिमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.२ प्रतिशत छ। अघिल्लो वर्ष यो समूहको मुद्रास्फीति ५.६ प्रतिशत थियो। यस्तै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ। अघिल्लो वर्ष यो ६.३ प्रतिशत थियो। 

क्षेत्रगत आधारमा हेर्दा फागुनमा हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत मूल्य वृद्धि हुन पुगेकोे छ। अघिल्लो वर्ष यो क्रमशः ६.० प्रतिशत, ५.६ प्रतिशत, ४.५ प्रतिशत र ६.३ प्रतिशत थियो।  नेपाल र भारतको मुद्रास्फीति तुलना गर्दा नेपालको ४.२ प्रतिशत र भारतको २.९ प्रतिशत छ। अघिल्लो वर्ष नेपालको मुद्रास्फीति ६.० प्रतिशत र भारतको ४.३ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार यो अवधिमा थोक मुद्रास्फीति ५.० प्रतिशत छ। अघिल्लो वर्ष २.३ प्रतिशत थियो। पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टस्लगायत वस्तुको मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको हो। 

चालु आवको आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो अवधिमा निर्यात १०.८ प्रतिशतले वृद्धि भएकोे थियो। गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाललगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिनलगायत वस्तुको निर्यात घटेको छ। 

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन सम्ममा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर नौ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्ष यो यस्तो आयात २२ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ।

अर्थतन्त्रका परिसूचक

–  चालु खाता घाटा १९१ अर्ब
–  मूल्य वृद्धिदर ४.२ प्रतिशत
–  वस्तु निर्यात १४.६ प्रतिशत वृद्धि
–  कुल वस्तु आयात २३.८ प्रतिशत वृद्धि
–  व्यापार घाटा २४.५ प्रतिशतले वृद्धि
–  विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि
–  विदेशी विनिमय सञ्चिति १०६१ अर्ब 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस बिलेट, हवाईजहाज तथा पार्टपूर्जा, विद्युतीय सामग्रीलगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको आयात घटेको छ। 

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका ठूला भन्सार नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ भने सबै नाकाबाट बढेको छ। 
चालु आवको फागुनसम्ममा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले बढेर आठ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ। यो अवधिमा निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अनुपात ७.० प्रतिशत  थियो। 

राष्ट्र बैंकका अनुसार फागुनसम्ममा खुद सेवा आय १२ अर्ब ३० करोडले घाटामा छ। अघिल्लो वर्ष यो सेवा आय दुई अर्ब ४५ करोडले घाटामा थियो। सेवा खाताअन्तर्गत पर्यटन आय ९.५ प्रतिशतले बढेर ४७ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ४३ अर्ब ४६ करोड थियो। 

सेवा खाताअन्तर्गत पर्यटन व्यय २१ प्रतिशतले वृद्धि भई ६१ अर्ब ४९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको खर्च ३२ अर्ब १७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पर्यटन व्यय ५० अर्ब ८३ करोड थियो।  वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटे पनि चालु आवको आठ महिनासम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ८२ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको यो अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फागुनसम्ममा ३८.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ४.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो।  राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा फागुन मसान्तमा १० खर्ब ६१ अर्ब ७१ करोड रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १० अर्ब आठ करोड रहेकामा फागुनमा नौ अर्ब ५७ करोड छ। चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

बैंकका अनुसार यो अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति आठ अर्ब ९० करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ५३ अर्ब ६३ करोडले घाटामा थियो। सरकारले खर्च गर्न नसकेका कारण एक खर्ब ३१ अर्ब ९४ करोड (स्थानीय तहको खातामा रहेको ५० अर्ब ९६ करोडसमेत) नगद मौज्दात थुप्रिएको छ।

प्रकाशित: ४ वैशाख २०७६ ०१:४१ बुधबार

आर्थिक_वर्ष शोधनान्तर नेपाल_राष्ट्र_बैंक