अर्थ

स्थानीय तहको आर्थिक खर्च अपारदर्शी, १३ करोड बेरुजु

पर्वत–पर्वतका स्थानीय तहमा ठुलो रकम बेरुजु भेटिएको छ। अपारदर्शी र मनोमानी रुपमा खर्च गर्दै आएको आरोप लागेका स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले खर्चमा ठुलो रकम बेरुजु निकालेको हो। पर्वतका सातवटा पालिकामा आर्थिक बर्ष ०७४/०७५ मा १३ करोड दुई लाख ३८ हजार रुपैयाँ बेरुजु भेटिएको छ।

कुश्मा नगरपालिकाको खर्च सबैभन्दा बढी अपारदर्शी देखिएको हो। कुश्मा नगरपालिकाको महालेखा परीक्षकको कार्यालयले एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो। त्यसमध्ये कुश्मा नगरपालिकाको तीन करोड नौ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको छ। कुश्मा नगरपालिकाले इन्धन, खाजा खर्च, भत्तामा ठुलो रकम खर्च गरेको छ।

नगरप्रमुख रामचन्द्र जोशीले नगरबाट पाउने तलबभत्ताबाट विपन्न र गरिबलाई वितरण गर्ने प्रचार गरेपनि कुश्मा नगरपालिकाभित्र भएको ठुलो रकम अपारदर्शिताले कुश्मा नगरपालिकाभित्र भ्रष्टाचार संस्थागत बन्दै गएको देखिएको छ। कुश्मा नगरपालिकाभित्र वडालाई वितरण गरिएको रकमसमेत असन्तुलित छ। चलाउन नजान्ने जनप्रतिनिधिको नाममा मोटरसाइकल खरिद गरेर अन्य ब्यक्तिलाई चलाउन दिएपनि नगरपालिकाबाट नियमित रुपमा इन्धन खर्च भइरहेको देखिएको छ।

त्यसैगरी विकासको अवस्था, भौगोलिक अवस्था, कर्मचारी संख्या, केन्द्रसँगको दुरीको आधार र दिगो तथा सबै जनता लाभान्वित हुने योजनामा बजेट विनियोजन गर्नुपर्नेमा मनोमानी र वितरणमुखी योजना र बजेट वितरण भएको आरोप छ। कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछाने र लेखाअधिकृत कृष्णप्रसाद शर्मा समायोजनमा अन्यत्र सरुवा भएका छन्। तर उनीहरुले कुश्मा नगरपालिकामा आउने प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी र लेखा अधिकृत कमल पौडेललाई केही दिन ढिला आइदिन आग्रह गरेको स्रोतले बतायो।

लामिछाने र शर्मा सरुवा भएपछि अहिले राती ८ बजेदेखि मध्यरातसम्म लेखाशाखा खुल्दै आएको छ। नगरपालिकास्रोतका अनुसार नगरपालिकामा शीर्षक खोज्ने र बिल मिलाएर चेक काट्न भ्याइनभ्याइ छ। केहीदिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मामा आयोजना गरेको अन्तर्क्रियामा पनि कुश्मा नगरपालिकाको अपारदर्शिताको बिषयमा चर्चा भएको थियो।

यसैगरी पर्वतको फलेबास नगरपालिकाको एक करोड ५६ लाख ५८ हजार रुपैयाँ बेरुजु छ। बिहादी गाउँपालिकाको एक करोड आठ हजार ४६ हजार बेरुजु छ। जलजला गाउँपालिकाको दुई करोड ५७ लाख २० हजार, पैयूँको एक करोड ९७ लाख ७२ हजार, महाशिलाको एक करोड ३१ लाख सात हजार र मोदी गाउँपालिकाको एक करोड ४१ लाख ६० हजार रुपैयाँ बेरुजु भेटिएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०८:३९ आइतबार

बेरुजु महालेखा_परीक्षक