अर्थ

वैदेशिक राेजगारीले परिश्रमी बनायो

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका–३ हैवुङका देवेन्द्र गुरुङ २०६८ मा मलेसिया गए। नेपाली सेनाको ६ वर्षे जागिर छाडेर वैदेशिक रोजगारीमा मलेसिया पुगेका गुरुङले सेक्युरिटी गार्ड भएर चार वर्ष बिताए। मलेसिया रहँदा उनलाई यति मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि केही रकम जम्मा गरेर उनी नेपाल फर्किए।

स्वदेशमै केही गर्ने हुटहुटीसहित स्वदेश फर्किएका गुरुङले गाउँका अन्य ६ जना छिमेकीलाई समेटेर हरियाली कृषक समूह बनाए। उनीहरु सबैले किवी खेती गर्ने तयारी गरे। सात जनाले तीन लाखका दरले पैसा उठाए। भोटेचौरस्थित सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारीबाट ३५ लाख ऋण पनि लिए। अनि थाले किवीको औपचारिक खेती। उनीहरुले दुई वर्षअघि ३९ रोपनी जमिनमा १७ सय किवीका बिरुवा रोपेका थिए। अहिले उनीहरूको समूहमा १६ जना थपिएका छन्। सदस्य संख्या २३ पुगेको छ। थपिएका सदस्य पशुपालन, तरकारीलगायत अन्य व्यवसायमा पनि संलग्न छन्। किवी खेतीमा भने सात जना मात्रै संलग्न छन्।

‘बिरुवा रोपेको दुई वर्ष भइसक्यो, व्यावसायिक रूपमा बजारमा लैजान अझै दुई वर्ष लाग्छ,’ गुरुङले भने, ‘त्यो बेलासम्म हाम्रो लगानी एक करोड नाघ्छ।’ उत्पादन सुरु नभए पनि गुरुङ समूहले सहकारीलाई ऋणको किस्ता र ब्याज तिरिरहेको छ। आफैं समूहको सञ्चालक छन् गुरुङ। उनले सहकारीबाट वार्षिक १६ प्रतिशत ब्याजदरले ऋण लिएको र समूहका सदस्य मिलेर किस्ता तिरिरहेका छन्। ब्याज महँगो भए पनि पुँजी र आयस्रोत नभएका बेला सहकारीले सहयोग गरेर आँट दिएको उनको भनाइ छ। उनका अनुसार चार वर्षमा व्यावसायिक उत्पादन हुने किवीको एउटा बोटमा ५० किलोसम्म फल्छ। गुरुङले दोलखामा तालिम लिएर किवी खेती थालेका हुन्।

वैदेशिक रोजगारीमा आठ वर्ष बिताएर फर्केका मेलम्ची–३ का पुरुषोत्तम खतिवडा पनि कृषि व्यवसायमै लागेका छन्। दुबई र कतारमा चार–चार वर्ष मार्केटिङको काम गरेका खतिवडा भन्छन्, ‘परिवार, समाज छाडेर जाँदा पीडा हुँदो रहेछ। विदेशमा बस्दा आफ्नै देशमा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। यसले सीप र परिश्रमी बन्न सिकायो। स्वदेशमै केही गरौं भनेर फर्किए।’

खतिवडा अजित कृषि फार्म खोलेर कुखुरापालन गरिरहेका छन्। उनको फार्ममा तीन हजार लेयर्स जातका कुखुरा छन्। पाँच लाखबाट व्यवसाय सुरु गरेका उनले ६ रोपनी तीन आना निजी जमिनमा सुविधासम्पन्न कुखुरा फार्म बनाएका छन्। ‘लगानी ३८ लाख पुगिसकेको छ,’ उनले भने, ‘त्यसमा ३५ सयदेखि चार हजार कुखुरा पाल्न सकिन्छ।’ उनले पनि सिन्धु कृषि सहकारीबाट १६ प्रतिशत ब्याजमा एक लाख ऋण लिएका छन्। खतिवडाको कृषि फार्मले एक दिनमा २६ हजार अण्डा उत्पादन गर्छ। तर, बिजुली र बाटोको समस्या फार्मले भोग्दै आएको छ। खतिवडाका अनुसार यहाँ बारम्बार बिजुली गइरहन्छ। उनले आफूले उच्च शक्तिको सोलार जडान गर्ने र कुखुराका लागि आफैं दाना उत्पादन गर्ने योजना बनाएको बताउँछन्। बिमा कम्पनीले कुखुरा फार्मको बिमा गर्न चासो नदेखाएकामा उनी गुनासो गर्छन्। ‘गाईगोरुको सबैले बिमा गर्छ,’ उनले भने, ‘कुखुराको हत्तपत्त नगर्दा रहेछन्।’

मेलम्ची–१ ओखरेनीकी गायत्री चौलागाईं पनि सहकारीबाट ऋण लिएर भैंसीपालनमा संलग्न छिन्। उनको गोठमा चारवटा भैंसी छन्। दूध बेचेर उनी दैनिक १४ सय कमाउँछिन्। सिन्धु कृषि सहकारीबाट १६ प्रतिशत ब्याजदरमा एक लाख ऋण लिएकी गायत्रीले गोठसुधारका लागि सरकारले सहयोग गर्नुपर्ने माग गरिन्। सोही ठाउँकी यशोदा चौलागाईंंले पनि एक लाख रुपैयाँ सहकारीबाट ऋण लिएर पाँचवटा भैंसी पालिरहेकी छन्। यशोदाको परिवारले गाईको संख्या थप्न र गोठ सुधारका लागि सहकारीसँग २० लाख ऋण मागेको छ। तर, सहकारीले उपलब्ध गराएको छैन।

भोटेचौरस्थित अन्नपूर्ण अर्गानिक कृषि कम्पनीले पनि एक सय ५३ रोपनी जमिनमा किवी, अलैंची, नर्सरी तथा फलफूल उत्पादन गर्न सहकारीसँग एक करोड ५० लाख रुपैयाँ मागेको छ। कम्पनीले सिन्धु कृषिमार्फत राष्ट्रिय सहकारी बैंकसँग सो रकम ऋणका रुपमा दिन प्रस्ताव गरेको हो। चार हजार किवीका बिरुवा लगाउने कम्पनीको योजना छ।

सिन्धु कृषिसुधार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद चौलागाईंले कृषकका न्यूनतम समस्यालाई सहकारीले सम्बोधनको प्रयास गरिरहेको बताए। ‘आफ्नै पुँजीले नभ्याएपछि सहकारी बैंकबाट ऋण लिएर लघु, विपन्न र धितो कर्जाबाट कारोबार गरिरहेका छौं,’ उनले भने, ‘कृषकलाई प्रविधियुक्त खेती, थोरै लगानीबाट धेरै प्रतिफल गराउनु हाम्रो लक्ष्य हो।’ सहकारी बैंककै ऋण ब्याजदर १४ प्रतिशत रहेको र सहकारीको खर्च जोडेर १६ प्रतिशतमा वितरण गर्नुपरेको बाध्यता सुनाउँदै उनले यसको नियन्त्रणका लागि सरकार र राष्ट्र बैंकले पहल गर्नुपर्ने धारणा राखे। ‘सरकारको नीति कार्यक्रम किसानमा पुग्नुप-यो,’ उनले भने।

राष्ट्रिय सहकारी बैंककी सञ्चालक समिति सदस्य सरिता भट्टराईले ब्याजदर न्यूनीकरणका लागि राज्यबाटै पहल हुनुपर्ने बताइन्। आफ्नो बैंकले उत्पादन र परियोजनामा लगानी गर्ने र कर्जा प्रवाह गरेर सहकारीसँग समन्वय गर्ने उनले स्पष्ट पारिन्। राष्ट्र बैंकका लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले खर्च कटाएर सहकारीले ब्याजदर घटाउनुपर्ने धारणा राखे। लघु कर्जा साना किसानले सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाइएको भन्दै उनले राष्ट्र बैंक नीति निर्माणमा केन्द्रित हुने बताए। सबै बैंकले कृषिमा १० प्रतिशत लगानी गर्नुपर्ने उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कृषकलाई सहुलियत ब्याजका लागि आफूले पहल गर्ने आश्वासन दिए। ‘किसानलाई ब्याज एकदमै उच्च रहेछ। यसको न्यूनीकरण र ऋण सहुलियतका लागि म गभर्नरसँग कुरा गर्छु। पोलिसीमा पनि परिवर्तन गर्नुपर्छ,’ उनले भने। किसानले वाणिज्य बैंकबाट फास्ट ट्र्याकमा सहुलियत ब्याजमा ऋण पाउने वातावरण निर्माण गरिछाड्ने सचिव मैनालीले प्रतिबद्धता जनाए।

प्रकाशित: १ वैशाख २०७६ ०१:२६ आइतबार

वैदेशिक_रोजगारी मलेसिया राम्रो_आम्दानी