अर्थ

विमानस्थलका महाप्रबन्धकसँग स्पष्टीकरण

काठमाडौं– राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भएको अवस्थामा मंगलबार १०ः१७ बजे फ्लाई दुबईलाई अनुमति दिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग स्पष्टीकरण लिइएको छ। उनले २४ घन्टे स्पष्टीकरणको जवाफ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छन्।

नोटाम लागू भइसकेको अवस्थामा १७ मिनेट समय दिएर फ्लाई दुबईलाई उडान अनुमति दिएको विषयमा बुधबार मन्त्रालय र क्यानले २४ घन्टे स्पष्टीकरण मागेका थिए। रनवेको काम सुरु नभएका कारण इन्जिनियरहरुसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको क्षेत्रीको स्पष्टीकरणमा उल्लेख रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। जहाज १० बजे पुस ब्याक गर्न तयार भइसकेको र सबै यात्रु भित्र पसेको अवस्थामा टावर र सम्बन्धित एअरलाइन्सलाई सोध्दा पाँचदेखि सात मिनेटभित्रै जहाज उड्न सक्ने जानकारी दिएपछि मानवताका नाताले कुनै पनि यात्रुलाई असर नपरोस् भन्ने उद्देश्यले उडान अनुमति दिएको क्षेत्रीको भनाइ छ।

तर अघिल्लो बुधबारमात्रै नोटाम जारी भएको भन्दै रातिको १० बजेपछि चार मिनेट समय नदिँदा निगमको जहाज दुबई उड्न नपाएर दुई सय ७४ यात्रु अलपत्र परेका थिए। क्षेत्रीले भने निगमको जहाजको जस्तै यात्रु अलपत्र नपरुन् भनेर फ्लाई दुबईलाई उडान अनुमति दिएको दाबी गरेका छन्। आफूले अनुमति दिएको बताउँदै यसमा कुनै स्वार्थ नभएको दाबी उनको छ। हाल विमानस्थलको रनवे मर्मत गरिरहेको कारण विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द हुने गरेको छ। यसको प्रभाव पछिल्लो समय राति उडान गर्ने विमान कम्पनीलाई परेको देखिन्छ। मंगलबार राति फ्लाई दुबईको उडान नं. एफजेड ५७४ लाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि अन्तर्राष्ट्रिय उडानको नियमविपरीत उडान अनुमति दिइएको हो।विमानस्थलमा धावनमार्ग मर्मतका लागि राति १० बजेपछि बिहान ८ बजेसम्म उडान अवतरण बन्द हुन्छ। विमानस्थलसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू भइसकेको अवस्थामा उडान–अवतरण गराउन पाइँदैन। सोही नियम देखाएर निगमको जहाजलाई एक मिनेट पनि समय नदिने बिमानस्थलले फ्लाई दुबईको जहाजलाई भने १७ मिनेटपछि समेत उडान अनुमति दिएर उडाएको हो।

प्रकाशित: २९ चैत्र २०७५ ०१:३४ शुक्रबार

फ्लाई_दुबई त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थ राजकुमार_क्षेत्री