अर्थ

‘पिके’ चिनाउन ‘ट्रेल रेस’

काठमाडौं– सोलुखुम्बु र ओखलढुंगाबीचमा रहेको पिके पिक र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ट्रेल रेस गरिएको छ। सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखलाको दृश्वालोकन हुने पिकेको प्रवद्र्धनस्वरुप रेस गरिएको हो।ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामा वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी ट्रेल रेस गरिनेछ। आठ हजार मिटरका ६ हिमशृंखलालाई नजिकबाट नियाल्न सकिने स्थान सोलुखुम्बुको पिके हिल (पिके डाँडा)सहित आसपासका क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी तथा स्थानीयले ‘ट्रेकिङ रुट’ तयार गरी विभिन्न गतिविधि सञ्चालन गरेका छन्। समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके डाँडालाई सरकारले गत वर्ष मात्रै प्रमुख सय पर्यटकीय गन्तव्य क्षेत्रमा समावेश गरेको थियो।
शेर्पा समुदायको संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखुपिके र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई जोडेर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संयुक्तरुपमा पर्यटन प्रवद्र्धन अभियान थालिएको समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले जानकारी दिए। उक्त ठाउँमा यसअघि पनि विदेशी पर्यटकहरु ट्रेकिङका लागि जाने गर्दथे। पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण सुन्दर गन्तव्य भएर पनि लुकेको भन्दै यस वर्ष पहिलो ट्रेल रेस (अल्ट्रा हाफ म्याराथन) आयोजना गरेर पर्यटन प्रवद्र्धन गरिएको समितिले जनाएको छ।
ट्रेल रेस नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो भने नेपाल ट्रेकिङ एजेन्सिज अफ एसोसिएसन (टान) र नेपाल पर्वतारोहण संघले सहप्रायोजन गरेको थियो।

 

प्रकाशित: २७ चैत्र २०७५ ०१:५६ बुधबार

ट्रेल_रेस हिमशृंखला ओखलढुंगा पर्यटन_विकास_समिति