अर्थ

चालक तथा सहचालकलाई ‘चाइना पास’ दिन सुरु

रसुवा-चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकलाई चीन प्रवेशका लागि अस्थायी अनुमति पत्र दिन सुरु भएको छ। लामो समयदेखि पहल थालिएको भए पनि सोमबारदेखि औपचारिक रूपमा प्रवेश अनुमति पत्र दिन सुरु गरिएको हो। सोमबार चिनियाँ पक्षले सन्तबहादुर वाइबालाई पहिलो पटक पास उपलब्ध गराएको हो। सुरुमा उनलाई पाँच दिनको पास उपलब्ध गराइएको छ। २०७१ देखि नाकामा कारोबार सुरु भएको भए पनि बाहिरी जिल्लाका चालकले रसुवागढीसम्म मात्रै कन्टेनर लैजान पाउँथे। रसुवागढीबाट रसुवाका चालकले केरुङसम्म पु¥याउने तथा ल्याउने कार्य गर्दै आएका थिए। 

अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ।  अध्यागमन कार्यालयले पास जारी गरेमा उनीहरू केरुङ जान पाउने चीनको केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले जनाएको छ। चीनसँग सीमा जोडिएका जिल्ला बाहेकका जिल्लाका राहदानी बाहक चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एकवर्षे अस्थायी प्रवेश अनुमति दिन थालिएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने छ।

जिल्ला बाहिरको व्यापारी, चालक तथा सहचालक केरुङ जानका लागि पासको व्यवस्था भएसँगै सहज भएको व्यापारी बुद्धराज बस्नेतले बताए। 
चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘लामो समयदेखि पास उपलब्ध गराउन पहल गरेका थियौं,’ उनले भने, ‘अहिले सफलता हात परेको छ।’ आगामी दिनमा सबै नेपाली तथा व्यापारीलाई सहज रूपमा केरुङ जान पाउने व्यवस्थाका लागि पनि पहल भइरहेको उनले बताए। रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्। चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एकवर्षे पास पाउँछन्। नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एकवर्षे प्रवेशाज्ञा रसुवाका १० हजार दुई सय १९ ले पाएका छन्। यो २०७२ असोज २८ गतेदेखि यही चैत १६ गतेसम्मको तथ्यांक हो। रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यवसायी र चालक बढ्दै गएका छन्।

प्रकाशित: २७ चैत्र २०७५ ०१:५१ बुधबार

केरुङ कन्टेनर चालक_तथा_सहचालक