अर्थ

‘लोडसेडिङ निम्त्याउने खेल सुरु’

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङ गराउनेहरु नै आज यो वा त्यो बहानामा आफूलाई कमजोर पार्ने खेलमा लागेको बताएका छन्।

‘हिजो लोडसेडिङ गराउनेहरु नै मैले गरेको सकारात्मक कामको प्रशंसा गर्नेभन्दा पनि कसरी असफल बनाउने भन्ने खेलमा लागेका छन्,’ नेपाल विद्युत् प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भावुक हुँदै उनले भने, ‘लोडसेडिङ निम्त्याउने खेल सुरु भएको छ।’

दैनिक १४ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य र वर्षिक नौ अर्ब घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो टिम सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘प्राधिकरणको टिम रातदिन नभनीकन खटेर यो स्थितिमा पु-याएका छौं,’ उनले भने, ‘राम्रो काम गरेको नदेख्ने विभिन्न अफबाह फैलाएर बदनाम गराउने काम गरिरहेका छन्।’ हिजोको परिस्थिति निम्त्याउने प्रयास भइरहेको घिसिङले अरोप लगाए।

हिजो प्राधिकरणका कार्यकारी निर्देशक भएका व्यक्तिले नै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग गरी आफू र आफ्नो टिमलाई बदनाम गराउने कार्यमा लागेकामा उनले खेद व्यक्त गरे। ‘विगतका प्राधिकरणका केही कार्यकारी निर्देशक नै आफू र आफ्नो टिमलाई बद्नाम गराउन साना तहका प्राधिकरणकै कर्मचारीलाई खटाउने गरेका छन्,’ घिसिङले  भने, ‘पाँच तहको कर्मचारी साँढे जस्तै बोल्दै हिँड्न सुहाउँदैन।’

आफूलाई बदनाम गराउन ६० लाख भक्ता लिएको भन्ने अरोपको भने उनले खण्डन गरे। ‘६ लाख भक्तालाई ६० लाख भनेर बदनाम गराउने काम गरे,’ घिसिङले भने, ‘बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म काम गर्दा मिटिङ, छलफल हुनुलाई स्वभाविकै लिएको छु।’

आगामी चार वर्षभित्र सबै नागरिकबीच बिजुली पु-याउने लक्ष्यका साथ काम गरिरहेको पनि उनले बताए। बिजुलीको गुणस्तरीयता र विश्वसनियता कायम हुन नसकेको प्रसंग कोट्याउँदै घिसिङले भने, ‘त्यसका लागि ५०–६० वटा सबस्टेसन सञ्चालनमा ल्याउँदै छौं।’

केही वर्षभित्रै तीन हजार मेगावाटका जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुने जानकारी पनि उनले दिए। ‘त्यो विद्युत् कसरी ग्राहकसम्म पु-याउने भन्ने चिन्तामा प्राधिकरण छ,’ घिसिङले भने, ‘त्यसका लागि प्राधिकरणले अहोरात्र खटिएर प्रसारण लाइन र सबस्टेसन निर्माणको काम गरिहेको छ।’

पहिले बिजुली नभएर छटपटाउनु पथ्र्यो, अहिले बिजुली बढी प्रयोग गर्नुस् भन्ने अवस्था आएको जानकारी पनि उनले दिए। ‘अहिलेको रातको समयमा बर्खामा चार–पाँच घण्टा बिजुली खेर जाने स्थिति आउँदैछ,’ घिसिङले भने, ‘त्यस्तो बिजुलीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा प्राधिकरण चिन्तित छ।’

प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटर फिडरबाट उद्योगीलाई बढी मूल्यमा बिजुली दिएको थियो। ‘२०–२२ रुपैयाँमा अस्पताललाई र १५–१६ रुपैयाँमा उद्योगीलाई दिएको थियो,’ उनले भने, ‘अहिले लोडसेडिङको अन्त्य भएको र २४ घन्टा बिजुली आपूर्ति भएकाले उनीहरु ९अस्पताल र उद्योगीबाट बढी रकम लिन हुँदैन भन्ने सम्बन्धमा छलफल भइरहेको छ।’

डेडिकेटेड फिडर र ट्रंक लाइनबाट क्रमशः दुई सय ३१ र ६७ गरी जम्मा दुई सय ९८ ग्राहकले विद्युत् आपूर्ति लिइरहेका छन्। त्यसमध्ये एक सय ८४ ग्राहकलाई प्रिमियमसहितको विद्युत् महशुल दर लागू गरिएको प्राधिकरणको भनाइ छ। ‘डेडिकेटेड एवं ट्रंक लाइनबाट विद्युत् सेवा प्रयोग गरिरहेका सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकको संख्या ५० छ। बाँकीको हकमा बिलिङ भइरहेको छ,’ पत्रकार भेटघाट कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रिमियमसहितको महशुल बिलिङ भएका ग्राहक पुनरावेदनका लागि उच्च र सर्वोच्च अदालतमा गएका छन्। उनीहरुको मुद्दा अदालतमा विचाराधीन छ। केही औद्योगिक तथा व्यापारिक ग्राहकले प्रिमियम शुल्क नलगाउन प्राधिकरणमा लिखित तथा मौखिक गुनासो दर्ता गरेका छन्।

डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका सबै ग्राहकले विद्युत् महशुल निर्धारण आयोगले स्वीकृत गरेको प्रिमियमसहितको महशुल दर विद्युत् महशुल संकलन विनियमावली २०७३ मा उल्लेख भएबमोजिम प्राधिकरणबाट बिलिङ हुँदा ग्राहकले विनियमावलीको व्यवस्थाअनुसार महशुल तिर्न नपर्ने भनी दाबी गरेका छन्। यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भइरहेको छ।

अब उप्रान्त लोडसेडिङ अन्त्य भएकाले डेडिकेटेड एवं ट्रंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका ग्राहकका लागि नयाँ उपयुक्त महशुल दर तय गरी सम्बन्धित निकायको स्वीकृतिमा लागू गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ चैत्र २०७५ ०७:०४ मंगलबार

नेपाल_विद्युत्_प्राधिकरण कुलमान_घिसिङ लोडसेडिङ नाफा