अर्थ

देम्बा महोत्सव तयारी पूरा

ओखलढुंगा - दोस्रो थोलेदेम्बा महोत्सवको तयारी पूरा भएको छ। ‘दिगो विकास र पर्यटन प्रवर्द्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मूल नाराका साथ यही चैत २२ र २३ गते ओखलढुंगाको अग्लो डाँडा थोलेदेम्बामा हुने महोत्सवको तयारी पूरा भएको हो।

दिगो विकाससँगै पर्यटन  प्रवर्द्धन  गर्ने उद्देश्यले गत वर्षदेखि बर्सेनि थोलेदेम्बा महोत्सव हुँदै आएको छ। त्यसैको निरन्तरता स्वरुप यस वर्ष हुने महोत्सवको सबै तयारी पूरा भएको आयोजक पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिका महासचिव संयोजक पूर्णप्रसाद न्यौपानेले जानकारी दिए। विगतको उपलब्धि समिक्षा गर्दै भावी योजना तय गर्नेगरी महोत्सव आयोजना गरिएको उनले बताए।

‘थोलेदेम्बा महोत्सव विगतभन्दा अझ भव्य र प्रभावकारी बनाउने योजना छ,’ महोत्सव प्रचारप्रसार संयोजकसमेत रहेका न्यौपानेले भने, ‘सबै तयारी पूरा भइसकेको छ। सबैको ध्यान थोलेदेम्बा महोत्सवमा केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धनको अभियानमा स्थानीय जुट्नेछन् भन्ने हाम्रो अपेक्षा छ।’ दोस्रो देम्बा महोत्सवको उद्घाटन थोलेदेम्बा डाँडा र समापन खिजीफलाटे बजारमा हुने आयोजकले जनाएको छ। उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, संघीय सांसद यज्ञराज सुनुवार, प्रदेश सांसद अम्बिरबाबु गुरुङ, मोहन खड्का, पूर्वसभाषद् रामहरि खतिवडासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताले महोत्सव सम्बोधन गर्ने कार्यक्रम छ।

महोत्सवमा नेपालसहित विभिन्न देशका पर्यटन विज्ञ आउने भएका छन्। विज्ञ ल्याएर दुर्गम पहाडी जिल्लाको पर्यटकीय क्षेत्रको विकासका सम्भावना र चुनौतीबारे अन्तरक्रियासमेत गराइने संस्थाका अध्यक्ष डेण्डी शेर्पाले बताए। उनका अनुसार महोत्सवलाई अन्तर्राष्ट्रिय अनुभवका आधारमा सञ्चालन गरिने छ। महोत्सवमा स्थानीय ब्राम्हण, तामाङ, शेर्पा, गुरुङ, सुनुवारसहितका जातीय समुदायको झाँकी  र ख्यातिप्राप्त कलाकारको सांकृतिक प्रस्तुतिसमेत रहनेछ।

प्रकाशित: २१ चैत्र २०७५ ०६:५२ बिहीबार

महोत्सव पर्यटन विकास