अर्थ

लक्ष्मी लघुवित्तले ग्राहकको क्षमता बढाउने

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम र पाँचथर जिल्लाको चारवटा शाखा कार्यालयमार्फत अदुवा र अलैंची खेती गर्न नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजसँग सम्झौता गरेको छ।

ग्राहक साना किसानलाई अदुवा र अलैंची खेती गर्न आवश्यक पर्ने व्यावहारिक ज्ञान, सीप तथा क्षमता र वित्तीय साक्षरता बढाउने उद्देश्यले सम्झौता गरिएको संस्थाले जनाएको हो।

सम्झौतापत्रमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र स्विस कन्ट्याक्टको सहज प्रोग्रामका टिम लिडर जिबी बन्जाराले हस्ताक्षर गरेका छन्।
यस कार्यक्रमबाट लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकलाई वित्तीय सुविधाको अतिरिक्त गैरवित्तीय सेवा पनि प्रदान गरी ग्राहक सदस्यको क्षमता अभिवृद्धिबाट उनीहरुको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार आउने विश्वास लिएको छ। लक्ष्मी लघुवित्तको सातवटै प्रदेशमा शाखा सञ्जाल विस्तार भई ४७ जिल्लामा लघुवित्तसम्बन्धी कार्यक्रम सञ्चालन भएको बताइएको छ।

प्रकाशित: २१ चैत्र २०७५ ०६:०४ बिहीबार

लक्ष्मी_लघुवित्त_वित्तीय_संस्था_लिमिटेड ग्राहक