अर्थ

उद्योगहरुमा करोडौंको क्षति

वीरगन्ज - पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट वीरगन्ज औद्योगिक करिडोरका करिब दर्जन उद्योगमा क्षति पुगेको छ। औद्योगिक क्षति करोडौंमा आँकलन गरिएको छ। ‘क्षति धेरै ठूलो छ, उद्योगमा एउटा सानो क्षति भयो भने पनि त्यसको ‘चेन इफेक्ट’ पर्छ र त्यसबाट निकै नोक्सान हुन्छ। यहाँ त भीषण क्षति भएको छ,’ वीरगन्ज उद्योग वाािण्ज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, ‘हामीले क्षतिग्रस्त उद्योगहरुसँग विवरण मागेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिरहेका छौं।’

वीरगन्ज महानगरपालिका १८ को सुखचैनादेखि बाराको चैनपुरसम्मको क्षेत्रका उद्योग मुख्य रुपमा शक्तिशाली आँधीहुरीको चपेटामा परेको उनले बताए। सबभन्दा बढी चाचान औद्योगिक समूहको पाँचवटा उद्योगमा असर परेको उनले बताए। त्यस्तै, रुँगटा समूहको उद्योग, कलश सिमेन्ट लगायत उद्योग प्रभावित भएका छन्। चैनपुरमा रहेको कुखुराको समपूरक पोषण (फिड सप्लिमेन्ट) औषधि बनाउने एडभान्स न्युट्रिसन इन्डस्ट्रिज क्षतिग्रस्त छ। त्यहाँ रहेको एउटा पेट्रोल पम्पमा पनि क्षति पुगेको छ। दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ।

‘मेरो पाँचवटा उद्योगमा नराम्रो क्षति भएको छ, भौतिक संरचनामा भएको क्षति कम्तीमा पाँच करोड बराबर रहेको अनुमान छ,’ चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले भने, ‘तयारी उत्पादन र कच्चा पदार्थमा भएको नोक्सानी पनि निकै छ।’ त्यसको हिसाब निकाल्न बाँकी रहेको उनी बताउँछन्। नारायणी मोडर्न पल्सेज इन्डस्ट्रिज, नारायणी आयल रिफाइनरी, श्री एग्रो प्रोसेसिङ र श्री आधुनिक दाल उद्योगमा पनि क्षति भएको उनले बताए। सबैजसो उद्योगको छाना उडेका छन्।

नारायणी रिफाइनरीको बोइलरमा क्षति पुगको छ। पर्खाल र भित्ता भत्किएका छन्। उद्योगभित्रका सानातिना संरचना सबै तहसनहस भएका छन्। ‘त्यो दिन आँधीहुरीसँगै असिना र पानी पनि आयो, छाना उडेको गोदामभित्रको सामान पानीले भिजेर खराब भए र प्लान्टभित्रका मेसिनरीमा नोक्सानी पुग्यो,’ चाचानले भने, ‘अकल्पनीय क्षति भएको छ।’ चाचान समूह अन्तर्गत कै त्रिशक्तिलगायत ब्रान्डका सिमेन्ट बनाउने नारायणी सिमेन्ट उद्योगमा क्षति अलि बढी छ।

‘क्लिंकरका तीनवटा गोदामको सेड उडेको छ, विद्युत् सबस्टेसन र एमसिसी गोदामको छानो फल्स सिलिङसहितै उड्यो। मुख्य प्रशासनिक भवनको छानो पनि उडेको छ। लोडर सेडको भित्ता, फ्लाई एस गोदाम, फ्लाई एस फिडिङ युनिट, आरसिसी छानो र भित्ता सबै क्षतिग्रस्त भएको छ,’ उद्योगका महाप्रबन्धक बाबुलाल चाचानले भने, ‘यो उद्योगमा मात्र करोडभन्दा बढीको क्षति छ।’बजार पठाउन तयार १६ हजार बोरा सिमेन्ट नोक्सानीलाई उनले भारी क्षति भने।

नजिकै रहेको रुँगटा समूहको ओसिडी फुड्स एन्ड सिड्स प्रालिमा समेत आँधीले क्षति पुर्‍याएको छ। त्यहाँ अन्न भण्डारण गर्ने टावर भत्केको छ। ओम एग्रो प्रोडक्टस प्रालि र पशुपक्षीको दाना बनाउने ओम चाओ बिरो फिड इन्डस्ट्रिजमा समेत क्षति पुगेको छ। ‘भौतिक क्षतिको मात्र आँकलन गर्दा करिब एक करोड हाराहारी नोक्सानी भएको देखिन्छ,’ उद्योगका एक सञ्चालक राजेश रुँगटाले नागरिकसँग भने, ‘समग्र नोक्सानी यकिन गर्न समय लागछ। हावाहुरीको सिजन भएकोले भण्डारण गरेको अन्न सुरक्षित राख्न छाना पुनर्निर्माण अघि बढाएका छौं।’ अन्न भण्डारण गर्ने गोलो आकारमा रहेको दुईवटा साइलोले हुरी छेकेर अझ बढी क्षति हुनबाट जोगाएको उनले बताए।

त्यस्तै, कलश सिमेन्ट इन्डस्ट्रिजमा प्लान्ट र ग्राइन्डिङ युनिटको साइलोको छानो उडेपछि क्षति भएको उक्त उद्योगका सञ्चालक अनिल अग्रवाल पटवारीले बताए। ‘कारखानामा क्षति पुगेको छ, सेडहरु उडेकोले त्यहाँ रहेका कच्चापदार्थमा पनि नोक्सानी पुगेको छ,’ पटवारीले भने, ‘उत्पादित सिमेन्ट भण्डारण नगरी सिधै बजारमा पठाउने गरेकोले हाम्रो तयारी सिमेन्ट नोक्सान भएको छैन।’

चारकोठे घर गायब
चैनपुरमा रहेको कुखुराको ‘फिड सप्लिमेन्ट’ औषधी बनाउने एडभान्स न्युट्रिसन इन्डस्ट्रिजको चारकोठे प्रसाशनिक भवनको जगबाहेक केही पनि बाँकी छैन। ‘पूरा संरचना नै चक्रवात जस्तो त्यो आँधीले उडाएर लगेको छ, कहाँ लग्यो अत्तोपत्तो छैन,’ उद्योगका प्रबन्धक रबिन्द्र झाले भने, ‘जापनिज प्रविधिको फेब्रिकको घर धेरै बलियो थियो तर एअर कन्डिसनर, फ्रिज, दराजसहित घरै उडेको छ।’

उद्योगको दुईवटा गोदाम छन्। दुइटैको छानो उडेको छ। गोदामभित्र रहेका तयारी औषधी र कच्चापदार्थ पानीले भिजेको उनले बताए। करिब पाँच करोड बराबरको क्षति भएको उनले दाबी गरे। उद्योगका सुपरभाइजर सन्तोष पटेल र गार्ड हरिन्द्र भगतलाई हावाले १२ फिट जति उडाएर लगेको र उनीहरु घाइते भएको कारण उपचार गराएर आरामको लागि घर पठाइएको उनले बताए। उद्योगको अगाडि त्रिभुवन राजपथमा रहेको ‘कटारुका अटोमोबाइल’को तेल भर्ने दुईवटा पम्प हावाले उखेलेर फालिदिएको छ। त्यहाँ कार्यरत निरजकुमार पालका अनुसार आँधीले एकै छिनमा सबै बर्बाद पारेको थियो। ‘कान थुन्दा पनि सहन नसक्ने आवाज थियो। थोरै समय आँधी आयो निस्किएर हेर्दा तेल भर्ने दुइटा पम्प उखेलिएर पर फालिएको थियो,’ उनले भने। राजमार्गमा दर्जनभन्दा बढी गाडी पल्टिएका थिए।

प्रकाशित: २० चैत्र २०७५ ०६:१९ बुधबार

उद्योग क्षति हावाहुरी