अर्थ

स्थानीयलाई होमस्टे तालिम

होमस्टे तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई। तस्बिर:नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी र अर्खौलेबीचको बस्ती आसपासमा होमस्टे सञ्चालन गर्ने उद्देश्यकासाथ सातदिने तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका नासु दिनेश राईले बताए।

स्थानीयलाई होमस्टे सम्बन्धी सीप प्रदान गर्दै हलेसी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो।

होमस्टे सञ्चालन गरेर हलेसीको पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि पहिलोपल्ट होमस्टे तालिम आयोजना गरिएको हो।

होमस्टे तालिममा सहभागी नगरपालिकाभित्रका होटल व्यवसायी र अन्य सहभागीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले प्रमाणपत्र प्रदान गरे। 

हलेसी आएका पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिमा रम्ने, स्थानीय शैलीको घरमा बास बस्ने वाताबरण बनाउनका लागि होमस्टे तालिम आयोजना गरिएको मेयर राईले बताए। ‘हलेसीमा होमस्टे सञ्चालनका लागि यो पहिलो प्रयास हो,’ मेयर राईले भने।

प्रकाशित: १७ चैत्र २०७५ ०५:५० आइतबार

होमस्टे हलेसी तालिम