अर्थ

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

बेइजिङ - बिहीबार बिहान चीनको दक्षिणमा रहेको टापु हाइनानको पो आउ (अंग्रेजीमा बोआवो)मा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भयो। सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले वैदेशिक लगानी कानुन पारित गरेर चीनले विदेशी लगानीलाई अझै सहज बनाएको औंल्याए। ‘साझा भाग्य, साझा प्रयास र साझा विकास’ मुख्य विषय रहेको पोआउ सम्मेलनले विशेषगरी आर्थिक मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ। चालु वर्षको वार्षिक सम्मेलनमा ६० मुलुक तथा क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी छन्।

चिनियाँ प्रधानमन्त्री लीले स्वतन्त्र व्यापार क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै चीनले सधैं निष्पक्ष व्यापारमा अडान लिएको बताए। उनले विभिन्न मुलुकले विश्व सुशासन प्रणालीको सुधारलाई सक्रियताका साथ अगाडि बढाउनुपर्ने र विश्व सुशासन प्रणालीलाई अझै न्यायिक र उचित दिशातर्फ अघि बढाउनुपर्ने कुरामा जोड दिए। चीनले विश्व व्यापार संगठनको सुधारको समर्थन गरेको तर आधारभूत सिद्धान्त र केन्द्रीय मान्यतालाई पालना गरिनुपर्नेमा उनले जोड दिए।

एसिया विश्वको शान्ति र स्थिरताको संरक्षण गर्ने एक महत्वपूर्ण शक्ति रहेको र विश्वको आर्थिक वृद्धिलाई अगाडि बढाउने एक महŒवपूर्ण इन्जिन भएको औंल्याउँदै आर्थिक विकास र सर्वसाधारणको जीवनको सुधार गर्न एसियाली विभिन्न मुलुकको साझा लक्ष्य रहेको चिनियाँ प्रधानमन्त्री लीले उल्लेख गरे। विश्वमा देखिएको चुनौतीको सामना गर्ने र विकासलाई विस्तार गर्ने कुरामा सबैले संयुक्त प्रयास गर्नुपर्ने कुरा उनले दोहो-याए। पछिल्लो समय चीनले सुधार र खुलापनलाई सदैव प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्ने नीति अवलम्बन गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सुधार र खुलापनको प्रवद्र्धन गर्दै विदेशी लगानीलाई चीनमा सहज बनाइने बताउँदै आएका छन्। सत्तामा आएपछि राष्ट्रपति सीले महत्व दिएका मञ्चहरुमा पोआउ मन्च पनि एउटा हो। गत वर्ष उनले चीनको वर्तमान आर्थिक नीतिको लामो ब्याख्या गरेका थिए।

बिहीबारको मन्तव्यमा चिनियाँ प्रधानमन्त्री लीले पनि गत वर्ष सी चिन फिङले अगाडि सारेका चारवटा बुँदालाई दोहो¥याए। गत वर्ष राष्ट्रपति सीले बजार पहुँचलाई बृहत रुपमा खुकुलो पारिने, वैदेशिक लगानीलाई व्यापक रुपमा सहज बनाइने, बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई कडाइ गरिने र आयातलाई स्वतः विस्तार गरिने बताएका थिए। पछिल्लो समय चीनले शाङहाईपछि हाइनानलाई स्वतन्त्र व्यापार क्षेत्रका रुपमा अगाडि सारेको छ। चिनियाँकै भनाइमा सुधार र खुलापन सुरु गरेको ४० वर्षमा चीनलाई चियाउने झ्यालको रुपमा हाई नान स्थापित छ। वर्तमान चिनियाँ सत्ता यो झ्याललाई फराकिलो बनाउँदै ठूलो गेट बनाउने र त्यसमार्फत विदेशी लगानीलाई चीनमा स्वागत गर्ने तयारीमा जुटेको छ।    चीनको यही नीतिबाट विश्वका ठूला लगानीकर्ता पनि प्रेरित भएका छन्। एप्पल इंकका प्रथम कार्यकारी अधिकृत तिमोथी डोनाल्ड कुकले चीनले ढोका खोलेको र आफूहरु त्यो ढोकाबाट चीनमा प्रवेश गरेको बताएर ठूला लगानीकर्ताका लागि चीन आकर्षित लगानी क्षेत्र बनेको पुष्टि गरेका छन्।

सम्मेलन उद्घाटन हुनुभन्दा एक दिन अगाडि बुधबार आयोजित साइडलाइन सम्मेलनमा पाकिस्तानी पूर्वप्रधानमन्त्री सौकत अजिज, भारतीय उद्योग वाणिज्य संघका महासचिव सन्दिप सोमानी, चिनियाँ अर्थविद लिन यिफु, नयाँ विकास बैंकका उपगभर्नर लेस्ली मास्डोर्पलगायतले नव उदीयमान आर्थिक एकाइका चुनौती र अवसरबारे बहस गरेका थिए।

सन् २००१ को फेब्रुअरी २६ देखि २७ सम्म चीनको दक्षिणमा रहेको सुन्दर टापु हाइनानको पोआउमा एउटा सम्मेलन आयोजना भएको थियो। सो सम्मेलनमा चीनका तत्कालीन राष्ट्रपति च्याङ चमिन र नेपालका तत्कालीन राजा वीरेन्द्रलगायत नेताहरुले भाग लिएका थिए। सो सम्मेलनको अध्यक्षता नै राजा वीरेन्द्रले गरेका थिए। पोआउमा आयोजित त्यही सम्मेलनले यसको न्वारन गरेको थियो। त्यसपछिका सम्मेलनमा नेपालबाट राजादेखि राष्ट्रपति र प्रधानमन्त्रीसम्मले भाग लिँदै आएका थिए। तर गत वर्ष र यो वर्ष भने चीनले नेपाललाई औपचारिक रुपमा निमन्त्रणा नै गरेन।

प्रकाशित: १५ चैत्र २०७५ ०३:१६ शुक्रबार

विदेशी_लगानी चीन कानुन आर्थिक_मुद्दा