अर्थ

‘आफ्नै स्रोत र साधनको प्रयोग राम्रो ’

काठमाडौ – लगानी सम्मेलनमा भाग लिन आएका सिंगापुरका एक विज्ञले विकासका लागि नेपालले आफ्नै स्रोत र साधनको अधिकतम सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। सिंगापुरको मेनहार्ट गपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले नेपालले लिएको विकासको लक्ष्य प्राप्तिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

‘नेपाल दुई ठूला बजार भारत र चीनको बीचमा छ,’ उनले बिहीबार नागरिकसँगको कुराकानीमा भने, ‘नेपालले आफ्नो क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’ नसिमले सिंगापुरको अनुभव साट्दै उक्त अनुभव नेपालका लागि पनि शिक्षा हुन सक्ने बताए।

‘६० र ७० को दशकमा सिंगापुरले नेपालले अहिले सामना गरेजस्तै समस्या भोगिरहेको थियो,’ उनले भने। सिंगापुरले कसरी छलाङ मा-यो भन्ने प्रश्नको जवाफमा उनले आफ्नो मुलुकले सुरुमा भौतिक विकासलाई पहिलो प्राथमिकतामा राख्दै बन्दरगाह र विमानस्थल निर्माणलाई तीव्रता दिएको बताए। ‘सुरुमा हामीले स्केच बनायौं, अन्ततः यसलाई व्यवहारमै उतार्न सफल भयौं,’ उनले भने।

नसिमले नेपालमा मेनहार्ट ग्रुपको कार्यालय खोलेर सरकारी निकायसँगको सहकार्यमा काम गर्ने जानकारी दिए। ‘नेपालमा धेरै कुरा छ, जुन सिंगापुरमा छैन। नेपालमा प्राकृतिक स्रोत, साधन र सुन्दरता छ, जुन सिंगापुरमा छैन। त्यसैले नेपालमा द्रुत गतिको विकासको सम्भावना छ,’ उनले भने।

 

प्रकाशित: १५ चैत्र २०७५ ०१:५५ शुक्रबार

लगानी_सम्मेलन विकास विज्ञ