अर्थ

लगानी सम्मेलनमा दोलखाको फिल्म सिटी

दोलखा - सरकारले आगामी शुक्रबार र शनिबार राजधानीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चलचित्र क्षेत्रको एकमात्र परियोजना समेटिएको छ ‘दोलखा फिल्म सिटी’। राजधानीबाट झन्डै एक सय किलोमिटर दूरीमा रहेको दोलखा जिल्लाको प्रवेशद्धार खरिढुङ्गा भन्दा माथिल्लो भागमा पर्ने डाङडुङगे डाँडा क्षेत्रको खुल्ला मैदानको १५ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको सरकारले यही ठाउँमा फिल्म सिटी बनाउने प्रस्ताव लगानी सम्मेलन मार्फत अघि सारेपछि जिल्लामा पुःन बहस सुरु भएको छ।

आठ वर्ष यता सम्भाव्यता अध्ययन, सडक, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधार निर्माण गर्न करिब ३५ करोड खर्च गरिसकेको सरकारले यो ‘फिल्म सिटी’ परियोजना दोलखामै बनाउने कि नबनाउने भन्नेमा सरकारी अधिकारीहरु नै अन्योलमा थिए। तर अन्योल चिर्दै राष्ट्रिय लगानी बोर्डले चलचित्र र पर्यटन पूर्वाधारसँग सम्बन्धित यो परियोजना दोलखामै बनाउने भन्दै शुक्रबारदेखि हुने लगानी सम्मेलनका सहभागी समक्ष लगानीका लागि आह्वान गरिने ५० परियोजनामा यसलाई महŒव दिइएपछि दोलखामा फिल्म सिटी बन्ने आशा स्थानीयमा पलाएको छ।

राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेले दोलखामा अत्याधुनिक स्टुडियोसहितको अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माणका लागि ‘सोकेस’ पूरा भएको प्रतिक्रिया दिए। ‘अब सम्मेलनमा सहभागी हुने ४० मुलुकका ६ सय २० जना लगानीकर्तासमक्ष फिल्म सिटी जस्तै ५० वटा परियोजनामा लगानीका लागी आह्वान गर्छौं।’

गैरआवसिय नेपाली बाहेक ४० देशबाट ६ हजार ६ सय २० जना सहभागी हुन लागेको सम्मेलनमा चलचित्रसम्बन्धी एकमात्र परियोजना भएका कारण यसमा आकर्षक लगानी जुट्नेमा सरकारी अधिकारीहरु विश्वस्त छन्। उनीहरुले यसलाई महत्वमा समेत राखेका छन्। सरकारले सम्मेलनमा लगानीकर्ताका निम्ति प्रदर्शन गर्न तयार पारेको परियोजनाको ‘सोकेस’मा दोलखाको फिल्म सिटीलाई चलचित्र सुटिङ गर्ने गन्तव्य, मनोरञ्जन स्थलसहित फुर्सदको समय सदुपयोग गर्न आराम गर्ने प्रमुख गन्तव्यका रुपमा औल्याएको छ।

बोर्डले दोलखाको डाङडुङे डाँडाको यो क्षेत्रमा युनेस्कोको सूचीमा परेका पुराना सहरहरु, विभिन्न जातिय सम्प्रदायका संस्कृति झल्कने नमुना बस्ती, स्मारकसहित चलचित्रका कथाले माग्ने हरेक खालका गाउँ बस्ती र नमुना सहरका बनाउन मिल्ने खाली जग्गा यथेष्ठ मात्रामा रहेको उल्लेख गरेको छ। यि बाहेक पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, अन्य स्तरीय होटल, पार्क, क्याफे, बार, गिफ्ट सप र रंगमञ्च बनाइने लगानी बोर्डले तयार पारेको सोकेसमा उल्लेख छ। चलचित्र नगरीभित्रै फ्mिल्म पढाउने स्कुल, बैंक, डिपार्टमेन्टल स्टोर, पार्किङ, गार्ड हाउस, वर्कसप, हेल्थ सेन्टर र हेलिप्याडसमेत बनाइने जनाइएको छ।
यस्तै प्रस्तावित स्थानमा फिल्म उत्पादन र प्रशोधनका लागि सुविधा सम्पन्न स्टुडियो बनाउन सकिने, सुटिङका लागि आवश्यक पर्ने सामग्री यहीँ उपलब्ध हुने र सञ्चार केन्द्रसहितको चलचित्रसम्म्बन्धी तथ्यांक केन्द्र निर्माण गरिने उल्लेख छ।

बजारको ग्यारेन्टी गरिने
सरकारले लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न तयार पारेको परियोजनामध्ये दोलखा फिल्म सिटीमार्फत बजारको ग्यारेन्टीसमेत नेपालभित्रै गरिने रहेको उल्लेख छ।

‘सन २०१५÷१६ सम्म नेपालमा बर्षमा ६०÷७० ओटा मुलधारका नेपाली चलचित्र निर्माण हुन्थे’ लगानी बोर्डले तयार पारेको परियोजना प्रस्तावको सोकेसमा जनाईएको छ। बोर्डका अनुसार यस बर्ष उक्त संख्या बढेर १ सयको हाराहारीमा पुगेको छ। स्थानिय भाषा भाषिका चलचित्र समेत उल्लेख्य मात्रामा बनिरहेका छन्। लगानी प्रस्तावमा उल्लेख भए अनुसार नेपालमा एउटा मात्र पुरानो स्टुडियो रहेको र आधुनिक तहको सुविधा सम्पन्न सुटिङ स्थल र स्टुडियो नरहेका कारण नेपाली निर्देशक र निर्माता भारतको चेन्नई र मुम्बई जाने गरेका कारण दोलखाको यो फिल्म सिटी निर्माण भए पुँजी यहीं रहने उल्लेख छ।

यस्तै ईन्टरनेमा फिल्म अपलोड गर्ने कम्पनीहरुले समेत दिन प्रतिदिन फिल्मको माग बढीरहेकाले संसारभर फिल्म उत्पादन गर्ने र सुटिङ गर्ने स्थानहरुको माग समेत बढेकाले विदेशी चलचित्रको उत्पादनका लागी समेत नेपालमा भित्र्याउन सकिने प्रावनामा जनाईएको छ।  

प्रस्तावित फिल्म सिटी राम्रो हावापानी, प्राकृति दृश्य र सुन्दरताको हिसाबले अब्बल रहेको बोर्डको प्रस्तावमा जनाईएको छ। लगानीकर्ताका निम्ती नेपाली नागरिक देवतासरह आदार गर्ने र पाहुना ठान्ने कारण लगानीको राम्रो वातावरण रहेको र साथै जग्गाप्राप्ती भईसकेको र प्रस्तावित परियोजना स्थल दोलखाका स्थानियको भरपुर सहयोग रहने सरकारले उल्लेख गरेको छ।

लगानी बोर्डले यो परियोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गर्ने उल्लेख गरेको छ। यसका निम्ती २ सय ५० करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ८७ करोड नेपाली रुपैंया खर्च हुने अनुमान छ। परियोजना ३ बर्ष भित्र पुरा हुने अवधी बोर्डले तोकेको छ।

कस्ता लगानीकर्ताले आवेदन गर्न सक्छन् ?
लगानी बोर्डले फिल्म सिटी परियोजनामा ७० लाख डलर बराबरको बैंक ग्यारेण्टी भएको र अन्तराष्ट्रिय स्तरमा पर्यटन विकास र पर्यटन पूर्वाधार क्षेत्रमा ५ बर्ष काम गरेको अनुभव हुनु पर्ने उल्लेख छ।

प्रकाशित: १४ चैत्र २०७५ ०५:३९ बिहीबार

लगानी_सम्मेलन फिल्म_सिटी