अर्थ

चिलिमे–त्रिशूली प्रसारण लाइन, मुआब्जा वितरण सुरू

रसुवा- चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रका बासिन्दाले मुआब्जा बुझेका छन्। प्रसारण लाइनको टावर निर्माणका लागि २६ परिवारको जग्गा अधिग्रहण गरिएको थियो। यी मध्ये २४ परिवारले मुआब्जा बुझिसकेका छन्।

हालसम्म एक करोड २७ लाख ५३ हजार नौ सय ११ रुपैयाँ मुआब्जा वितरण गरिसकिएको मुआब्जा निर्धारण समिति रसुवाले जनाएको छ। व्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ। गुठी जग्गाको मुआब्जा भने वितरण गरिएको छैन।

बुधबार बोर्डको बैठक बसेर निर्णय गरेपछि मुआब्जा वितरण सुरु गर्ने आयोजना प्रमुख केदार राज सिलवालले बताए। आयोजनाले टावर निर्माणका लागि फाउन्डेसन गर्ने कार्य गरिरहेको छ। प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ। गोल्जुङदेखि मैलुङसम्म दुई सय २० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ। प्रसारण लाइन निर्माणका लागि रुख कटानको अनुमति पाएको भएपनि सामुदायिक वन उपभोक्ता समितिले दर्ता नवीकरण नगरेका कारण काम पछि धकेलिएको छ। संस्था दर्ता नवीकरण गरेर समितिले टाँचा बनाएपछि रुखमा टाँचा लगाउने काम सुरु हुने छ।

आयोजनाका अनुसार तीन हजार आठ सय २५ वटा रुख काट्नुपर्ने छ। जसमा तीन हजार तीन सय १४ वटा रसुवा र पाँच सय ११ वटा नुवाकोटको भागतर्फ पर्छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्रि बी हबसम्म निर्माण हुने प्रसारण लाइनमा ७९ वटा टावर रहने छ। प्रसारण लाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिंगाओ ग्रुप लिमिटेड र परमर्शदाताको रूपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन्। प्रसारण लाइन सन् २०१९ जुनसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि चार महिनाभन्दा बढी समय लाग्ने आयोजनाले जानकारी दिएको छ।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने लगायत कारणले प्रसारण लाइन निर्माणमा केही ढिलाइ हुन पुगेको हो। प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ। प्रसारण लाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को बिजुली जोडिने छ । यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ ।

प्रकाशित: १२ चैत्र २०७५ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App