अर्थ

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

चितवन– विकास निर्माणका काम गर्दा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि भरतपुर महानगरपालिकामा निर्माण सामग्री प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ। प्रयोगशाला भरतपुर महानगरपालिका–५ को साविक वडा नम्बर १४ को वडा कार्यालय भवनमा स्थापना गरिएको हो।

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्। गुणस्तर परीक्षण गर्दा पूर्वाधार निर्माणका लागि तोकिएको मापदण्डभित्र नरहेका निर्माण सामग्री प्रयोग गर्ने निर्माण व्यवसायी, प्राविधिक, कर्मचारीलाई कारबाही गरिने उनले बताइन्।

प्रयोगशालामा रड, सिमेन्ट, गिटी, बालुवा, बिटुमिन, रंगलगायत निर्माण सामग्री र निर्माण भएका भवन, सडक, पुललगायत संरचनाको गुणस्तर परीक्षण गरिनेछ। विकास र गुणस्तरलाई सँगसँगै लैजान चाहेको बताउँदै मेयर दाहाले प्रयोशालाबाट प्रवाह हुने सेवाको उपयोग गर्न महानगरवासीलाई आग्रह गरिन्।

प्रकाशित: १२ चैत्र २०७५ ०५:३१ मंगलबार

प्रयोगशाला गुणस्तर चितवन